अत्यधिक चिसो र शीतलहरबाट सिरहाको जनजीवन कष्टकर बन्दै
पुस ३, सिरहा । अत्यधिक चिसो र शीतलहरबाट सिरहाको जनजीवन कष्टकर बनेको छ । शीतलहरबाट वृद्धवृद्धा, बालबालिका र श्रमिक सबैभन्दा बढी प्रभावित भएका छन् ।
बिहानैदेखि लाग्ने कुहिरोसहितको चिसो हावाका कारण बजार तथा सार्वजनिकस्थलमा चहलपहल कम हुने गरेको छ । बिहानै काममा जाने श्रमिक काममा जान सकिरहेका छैनन् । जाडोले काममा जान समस्या हुन थालेपछि उनीहरुको हाथमुख जोड्ने समस्या हुन थालेको छ ।
अत्यधिक चिसोका कारण विद्यालयमा पनि कम बालबालिका उपस्थित हुने गरेको छ । गत शुक्रबार र शनिबार परेको पानी र त्यसपछि चलेको शीतलहरका कारण काममा जानै नसकिएको निर्माण मजदूरले बताएका छन् । चिसोका कारण रुघाखोकी, निमोनिया, झडापाखाला, दमजस्ता बिरामी बढ्ने गरेको जिल्ला स्वास्थ्य कार्यालय सिरहाका प्रमुख डा नागेन्द्र यादवले जानकारी दिए ।
अरु बेलाको तुलनामा जिल्ला अस्पताल सिरहा, रामकुमार सारडा उमाप्रसाद मुरारका स्मारक अस्पताल तथा अन्य निजी तथा सरकारी अस्पताल तथा स्वास्थ्य क्लिनिकमा रुघाखोकी, निमोनिया, दम तथा झाडापखालाका बिरामीको चाप बढेको जिल्ला अस्पतालले जनाएको छ ।