ऐतिहासिक गद्दी बैठक सर्वसाधारणका लागि खुला
काठमाडौं । वसन्तपुरस्थित ऐतिहासिक गद्दी बैठक सर्वसाधारणका लागि खुला गरिएको छ । मंगलबार एक कार्यक्रमबीच संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव महेश्वर न्यौपानेले गद्दी बैठक उद्घाटन गरेका हुन् ।
विसं २०७२ वैशाखको विनाशकारी भूकम्पले क्षति पु¥याएको गद्दी बैठकलाई अमेरिकाको एम्बासडर्स फण्ड फर कल्चरल प्रिजर्भेसनअन्तर्गत मिया मोटो भन्ने कम्पनी र संस्कृति सम्पदा कोष मिलेर जीर्णोद्धार गरिएको हो ।
योसँगै गद्दी बैठकको तल्लो तलामा रहेका तीनवटा ग्यालरीमा ऐतिहासिक हातहतियार र वृत्तचित्र पनि आजदेखि सर्वसाधारणले अवलोकन गर्न सकिने हनुमानढोका दरबार हेरचाह अड्डाका प्रमुख सन्दीप खनालले जानकारी दिए ।
लामो समयपछि खुला भएको उक्त ऐतिहासिक गद्दी बैठक अवलोकनका लागि सर्वसाधारणले अतिरिक्त शुल्क तिर्नुपर्दैन । यसअघि प्रवेश दरबार परिसरमा प्रवेश गर्दा तिर्दै आएको शुल्कले नै बैठकको पनि अवलोकन गर्न सकिने प्रमुख खनालले जानकारी दिए ।