\
धर्म-संस्कृति

लोपोन्मुख संस्कृति संरक्षणका लागि पञ्चेबाजा वितरण

वालिङ । स्याङ्जाको गल्याङ नगरपालिकाले लोपोन्मुख संस्कृति संरक्षणका लागि पञ्चेबाजा वितरण गरेको छ । विवाह, व्रतबन्धलगायत शुभकार्यमा बजाउने गरिएको पञ्चेबाजा लोप हुन लागेकाले त्यसको संरक्षणका लागि नगरपालिकाले तीन समूहलाई पञ्चेबाजाका सेट वितरण गरिएको प्रमुख प्रशासकीय अधिकृत दामोदर शर्माले बताउनुभयो ।

नगरपालिकाको बजेटअन्तर्गत प्रत्येक समूहलाई दमाहा, सहनाई र नरसिंहा दुई–दुई थान तथा ढोलक, टयाम्को, कर्नल र झुर्मा एक–एक थान वितरण गरिएको उहाँले जानकारी दिनुभयो । “लोपोन्मुख अवस्थामा पुगेको संस्कृति संरक्षणका लागि ध्यान दिँदै पञ्चेबाजाका सेट उपलब्ध गराएका हौँ” अधिकृत शर्माले भन्नुभयो, “गाउँघरमा हुने विभिन्न मेला, पर्व, धार्मिक उत्सव तथा औपचारिक कार्यक्रममा यिनै बाजा प्रयोग गर्नका लागि जोड दिनसकेमा संस्कृति संरक्षणमा टेवा पुग्ने देखिन्छ ।”

परियार समुदायका व्यक्तिले बाजा बजाएरै जीवन निर्वाह गर्दै आए पनि पछिल्लो समय युवा पुस्तामा सीप हस्तान्तरण नहुनु र अन्य पेशा अगाल्ने कारणले पनि पञ्चेबाजा लोप हुने अवस्थामा पुगेकाले संरक्षणका लागि नगरपालिकाले पञ्चेबाजासहित पोशाक उपलब्ध गराएको उहाँको भनाइ थियो ।

विदेशी संस्कृतिको अनुशरणले नेपाली संस्कृति ओझेलमा पर्दै गएकाले हाम्रा कला र संस्कृतिको संरक्षण गर्नका लागि स्थानीय सरकारले यसमा चासो दिएको थियो ।

लामो समयदेखि बाजा बजाएरै जीवन निर्वाह गर्दै आएका तीन पञ्चेबाजा समूहलाई बाजा उपलब्ध गराइएको वडासदस्य धनमाया विश्वकर्माले बताउनुभयो । “विशेष गरी विवाह, व्रतबन्धलगायत शुभकार्यमा बाजा बजाएरै दैनिक जीविकोपार्जन गर्दै आएका बाजा समूहलाई प्रोत्साहन गर्नका लागि प्रस्ताव तयार गरी नगरपालिकामा बुझायौँ” सदस्य विश्वकर्माले भन्नुभयो, “नगरपालिकाले हाम्रो प्रस्ताव सम्बोधन गरेकाले परम्परागत संस्कृति संरक्षणमा टेवा पुग्ने विश्वास लिएकी छु ।”

नगरपालिकाले पेलाकोट पञ्चेबाजा, कपुर्दी पञ्चेबाजा र अल्केढुङ्गे जनजाति पञ्चेबाजा समूहलाई पञ्चेबाजा उपलब्ध गराएको सदस्य विश्वकर्माले बताउनुभयो । अल्केढुङ्गे जनजाति पञ्चेबाजा समूहलाईबाहेक अन्य दुई समूहका १५÷१५ जनालाई पोशाकसमेत उपलब्ध गराइएको थियो ।

नगरपालिकाले उपलब्ध गराएको बाजा र ड्रेसको सही सदुपयोग गर्ने पेलाकोट बाजा समूहका अध्यक्ष जीतमान परियारले बताउनुभयो ।“लोपोन्मुख अवस्थामा रहेको हाम्रो पेशाको संरक्षण र जगेर्नाका लागि नगरपालिकाले जुन सहयोग गरेको छ यसप्रति हाम्रो समूह निक्कै खुशी र आभारी पनि छ” अध्यक्ष परियारले भन्नुभयो, “आशा छ, आगामी दिनमा अझै अन्य सहयोग पनि प्राप्त हुने र यसबाट संस्कृति संरक्षणसँगसँगै हाम्रो जीविकोपार्जनको रूपमा रहेको यो कामलाई मुख्य पेशाका रुपमा अगाडि बढाउन सकियोस् ।”

आफ्नो समूहमा दुई जनामात्रै करिब ६० वर्ष उमेर समूहका व्यक्ति रहेकामा थप नौ युवाले पनि बाजा संरक्षणसँगै सीप सिक्दै गएका उहाँको भानाइ थियो । “विशेष गरेर लगनका बेला विवाह, व्रतबन्धलगायत शुभकार्यमा पञ्चेबाजाको माग हुने गरेको छ” अध्यक्ष परियारले भन्नुभयो, “लगनका समयमा भ्याइनभ्याइ हुन्छ, नजिक जानुपरेमा दैनिक २० देखि २५ हजार र टाढा जानुपर्ने भएमा वा समय धेरै लाग्ने भएमा ४० देखि ४२ हजारसम्म लिने गरेका छौं ।”

Leave a Reply