रुकुम पश्चिम हत्याकाण्ड मानवताविरुद्धको बर्बर अपराध – संयोजक मिश्र
१३ जेठ, काठमाडौँ । साझा पार्टीले रुकुम पश्चिम हत्याकाण्ड मानवताविरुद्धको बर्बर अपराध भएको बताएको छ । पार्टीका संयोजक रवीन्द्र मिश्रले आज एक प्रेस बिज्ञप्ति गरी गर्दै सो कुरा बताएका हुन् ।
उक्त बिज्ञप्तिमा भनिएको छ, ‘रुकुम पश्चिममा आफ्नो प्रेमिकासँग बिहे गर्न गएका भनिएका एकजना दलित युवा नवराज विश्वकर्मा र उनका दुईजना साथीहरूको हत्या भएको घटना मानवताविरुद्धको बर्बर र नृशंस अपराध हो।’ सो घटनामा थप ५ जना बेपत्ता भएको र ५ जना घाइते भएका थिए ।
सत्तारूढ दलको वडा अध्यक्ष समेत आक्रमणमा संलग्न भएको समाचार झनै चिन्ताजनक छ। घटनाबारे छानबिन गर्न गृह मन्त्रालयले पाँच सदस्यीय समिति गठन गरेकाे त छ, तर घटनालाई सामसुम पार्न राजनीतिक सकृयता बढेको चर्चा चलिरहँदा छानबिन समिति राजनीतिक प्रभावबाट मुक्त होस् भनी साझा पार्टी खबरदारी गर्दछ पनि बिज्ञप्तिमा भनिएको छ ।
साथै बिज्ञप्तिमा भनिएको छ, ‘पछिल्लो यो लगायत मुलुकका अन्य क्षेत्रमा पनि बारम्बार भइरहने दलित विरुद्धको भेदभावले नेपालको संविधानले न्यायपूर्ण, भेदभावरहित र समावेशी समाजको परिकल्पना गरे पनि गाउँ-गाउँसम्म आफ्नो प्रभुत्व र प्रभाव रहेका राजनीतिक दलहरू र समाजका अगुवाहरूले जातीय भेदभावको मध्ययुगीन पाशविक कृत्यलाई हटाउन नसकेको स्पष्ट संकेत गर्दछ ।’
जातीय विभेद तथा छुवाछुत अन्त्य गर्नको लागि संवैधानिक र कानूनी व्यवस्था गरेरमात्र पुग्दैन । त्यसको प्रभावकारी, व्यवहारिक कार्यान्वयनका लागि उपयुक्त संयन्त्रको निर्माण गरियाेस्, दोषीमाथि कडाभन्दा कडा सजायँको स्पष्ट व्यवस्था गरियाेस् र राष्ट्रियस्तरमै सामाजिक सचेतना कार्यक्रमहरू सुरु गरोस् भनी साझा पार्टीले जोडदार माग गरेको छ ।
साझा पार्टी छुवाछुत तथा जातीय विभेदविरुद्ध शुन्य सहनशीलतामा विश्वास गर्दछ र आफ्ना सदस्यहरु लगायत आम सर्वसाधारणलाई अग्रपंक्तिमा रहेर विभेदविरुद्ध काम गर्न आग्रह गरेको बिज्ञप्तिमा भनिएको छ ।