नेकपा सचिवालय बैठक सकियो, स्थायी कमिटी बैठकबारे नीति तथा कार्यक्रमपछि छलफल हुने
२ जेठ, काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक सकिएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा स्थायी कमिटी बैठकबारे छलफल नै नभएको बुझिएको छ । स्थायी कमिटी बैठकबारे नीति तथा कार्यक्रमपछि छलफल हुने भएको छ ।
आज बसेको उक्त बैठकमा शुक्रबार राष्ट्रपति संसदमा प्रस्तुत गर्न लागेको आर्थिक वर्ष २०७७/०७८ को नीति तथा कार्यक्रमकारे छलफल भएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिएका छन् । साथै यसअघि वैशाख ३१ गते बोलाएर स्थगित भएको स्थायी कमिटी बैठकका बारेमा पनि छलफल हुनेछ । श्रेष्ठका अनुसार बैठकमा प्रधानमन्त्री ओलीले नीति तथा कार्यक्रमका बारेमा सचिवालयको धारणा माग गरेका थिए । सचिवालय सदस्यहरू महत्वपूर्ण सुझावहरु दिए ।
वैशाख ३१ गते ११ बजेका लागि बोलाइएको स्थायी कमिटी बैठक अर्को सूचना नहुन्जेल सम्मका लागि स्थगित गरिएको थियो । कोरोना भाइरस सङ्क्रमणको त्रास बढेकाले बैठक स्थगित गरिएको थियो । स्थायी कमिटीका सबै सदस्यको स्वास्थ्य परीक्षण नगरिएकाले पनि तत्काल बैठक बस्न सकेको थिएन ।
सरकारको कार्यशैलीप्रति असन्तुष्ट नेकपाका २० जना स्थायी कमिटी सदस्यहरुले तत्काल स्थायी कमिटीको बैठक बस्नुपर्ने लिखित माग गरेर दुवै जना अध्यक्षलाई पत्र बुझाई सकेका छन् । तर प्रधानमन्त्री ओलीले स्थायी कमिटीको बैठक आवश्यक नरहेको र बैठक गरिए आफू उपस्थित नहुने अडान राख्दै आएका छन् ।
यो पनि पढ्नुहोस्
कोरोना सङ्क्रमणको त्रास बढेकाले नेकपा स्थायी कमिटी बैठक पुन: स्थगित