\
मुख्य समाचारराजनीति

प्रचण्ड नेतृत्वको सरकारमा सहभागी एमालेका मन्त्रीहरूले राजीनामा दिँदै

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारमा सहभागी नेकपा (एमाले) का आठ जना मन्त्रीहरूले राजीनामा दिने भएका छन् ।

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेससँग नयाँ सरकार गठनका लागि एमालेले सहमति गरेसँगै प्रचण्ड नेतृत्वको सरकारबाट एमालेका मन्त्रीहरूले राजीनामा दिने भएका हुन् ।

हिजो सोमबार मध्यरातमा एमाले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा नयाँ सरकार गठन गर्ने दुई ठुला दल काँग्रेस र एमालेबीच सहमति भएको थियो । अहिले मन्त्रीहरूले राजीनामा बुझाउन जानेबारे छलफल भइरहेको छ ।

कांग्रेसले हिजो भएको सहमति र नयाँ सरकार गठनबारे छलफल गर्न पार्टीको पदाधिकारी बैठक आज बैठक ९ बजे पार्टी सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा बस्दै छ ।

काँग्रेस र एमालेबीच भएको सहमतिअनुसार सुरुमा एमालेका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री हुनेछन् । दोस्रो चरणमा कांग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री हुनेछन् ।

एमालेका मन्त्रीहरूको राजीनामा दिएसँगै प्रधानमन्त्री प्रचण्डले आज साँझसम्म मार्गप्रशस्त गर्दै राजीनामा दिने प्रवल सम्भावना रहेको छ । एमालेका मन्त्रीहरूले राजीनामा दिएपछि प्रधानमन्त्री प्रचण्डले पनि राजीनामा दिने कांग्रेस र एमालेको विश्वास छ ।

Leave a Reply