राष्ट्रियसभा निर्वाचन : आज रातिदेखि ‘मौन अवधि’
काठमाडौं । राष्ट्रियसभा सदस्य निर्वाचनको स्थिर समय (मौन अवधि) आज राति १२ बजेदेखि लागु हुने भएको छ । आज सोमबार राति १२ बजेदेखि आसन्न निर्वाचनको प्रचार-प्रसार गर्न नपाइने निर्वाचन आयोगले बताएको हो ।
यो अवधिमा उमेदवारका पक्ष/विपक्षमा प्रचार गर्न पाइँदैन । कुनै पनि माध्यमबाट मत माग्न, निर्वाचनसम्बन्धी भेला–गोष्ठीलगायत कार्य गर्न नपाइने आयोगले जनाएको छ ।
मौन अवधिमा राजनीतिकदलका पदाधिकारी, उम्मेदवार, दलका भ्रातृ सङ्गठन तथा आचारसंहिता पालना गर्नुपर्ने अन्य व्यक्ति, संस्था वा निकायले निर्वाचन प्रचारप्रसारलगायत कुनै पनि प्रकारका छलफल, अन्तरक्रिया, सभा सम्मेलन, कार्यशाला गोष्ठी आदि गर्न पाइने छैन ।
यस्तै, कुनै पनि विधि, प्रक्रिया वा माध्यमबाट मत माग्न र निर्वाचन प्रचार-प्रसार गर्न नहुने, सामाजिक सञ्जाल, अनलाइन, छापा वा अन्य कुनै माध्यमबाट राजनीतिक दल वा उम्मेदवारको पक्ष वा विपक्षमा कुनै सन्देश, सूचना वा प्रचार-प्रसारका सामग्री पोष्ट वा शेयर गर्न वा गराउन नहुने आयोगले बताएको छ ।
राष्ट्रियसभाको रिक्त १९ पदका निम्ति यही माघ ११ गते निर्वाचन हुँदै छ । बिहान ९ देखि दिउँसो ३ बजेसम्मको समय निर्धारण गरिएको छ ।