संसदीय समितिको सभापति मिल्यो भागबण्डा, रास्वपा र राप्रपाले पाएनन्
काठमाडौँ । संघीय संसदका संयुक्त र विषयगत समितिको सभापतिमा भागबण्डा मिलेको छ । नेपाली कांग्रेस, प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले), माओवादी केन्द्र, जसपा, एकीकृत समाजवादी र जनमतले समितिको सभापति पाउने गरी भागण्बडा मिलेको हो ।
नेकपा (माओवादी केन्द्र) को आज बसेको संसदीय दलको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संसदीय समितिको भागबण्डा मिलेको जानकारी गराएका हुन् ।
उनका अनुसार कांग्रेसलाई ४, एमालेलाई ३, माओवादी केन्द्रलाई २, नेकपा एसलाई १, जनता समाजवादी पार्टीलाई १ र जनमत पार्टीलाई १ समिति परेको छ । राष्ट्रिय प्रजातन्त्र पार्टी र राष्ट्रिय स्वतन्त्र पार्टीलाई समितिको नेतृत्व दिन नसकिएको समेत प्रचण्डले जानकारी गराएका थिए ।
संसदीय समितिहरूको सभापति चयनबारे छलफल गर्न आजै सभामुख देवराज घिमिरेले प्रमुख राजनीतिक दलका शीर्ष नेताहरूलाई मध्याह्न १२ बजे सभामुखको कार्यकक्षमा बोलाएका छन् । उक्त छलफलमा प्रधानमन्त्री प्रचण्ड, कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीसँगको छलफलमा समितिको सभापतिको निर्वाचनको टुंगो लाग्ने छ ।
प्रतिनिधिसभातर्फ १० वटा, राष्ट्रियसभातर्फ ४ र संयुक्त २ वटा संसदीय समितिहरु छन् । जसअनुसार कांग्रेसले अर्थ समिति, संसदीय सुनुवाई विशेष समिति, राज्य व्यवस्था समिति र कृषि समिति गरी चार वटा समितिको नेतृत्व गर्नेछ ।
एमालले सार्वजनिक लेखा समिति, महिला तथा सामाजिक मामिला समिति र राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्याङ्कन समितिमा नेतृत्व पाउने भएको छ ।
नेकपा माओवादी केन्द्रले पूर्वाधार विकास समिति र कानून, न्याय तथा मानव अधिकार समितिको नेतृत्व गर्ने छ । जसपाले अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको नेतृत्व गर्नेछ भने एकीकृत समाजवादीले शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको नेतृत्व गर्ने छ, जनमत पार्टीले उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति पाउने भएको छ ।
तर संसदको चौथो ठूलो दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र पाँचौं ठूलो दल राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले समितिको नेतृत्व नपाउने भएका छन् । सत्ता गठबन्धन र प्रमुख प्रतिपक्षीबीच समिति सभापतिमा भागबण्डा हुँदा रास्वपा र राप्रपाले नपाउने भएका हुन् । संसद्मा रास्वपाका २० र राप्रपाका १४ सांसद रहेका छन् ।