सदनको अवरोध हटाउन सभामुखले गरे प्रचण्ड र ओलीलाई फोन
काठमाडौं । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीलाई फोन गरेका छन् ।
सदनको अवरोध हटाउन सभामुख घिमिरेले आज बिहान प्रधानमन्त्री प्रचण्ड र अध्यक्ष ओलीसंग टेलिफोन संवाद गरेका हुन् । सत्तापक्ष र प्रतिपक्षी दलहरूको अडानका कारण प्रतिनिधिसभा बैठक प्रभावित भएपछि सभामुख घिमिरेले जारी अवरोध हटाउन पहल गरेका हुन् ।
सभामुखले निरन्तर रुपमा संसदको बैठक चल्न नसक्दा जनताको आवाज अवरुद्ध हुने भन्दै गम्भीर हुन प्रधानमन्त्री प्रचण्ड र ओलीको ध्यानाकर्षण गराएका सभामुखको सचिवालयले जनाएको छ ।
सभामुख घिमिरेले आज दिउँसो १२ बजे बानेश्वरमा सदनको अवरोध खुलाउने विषयमा छलफल गर्न कार्यव्यवस्था परामर्श समितिको बैठक पनि आह्वान गरेका छन् । पटक-पटक सूचना टाँसेर सदन स्थगित गर्दा संसदीय अभ्यासमा गलत नजिर बस्नेतर्फ शीर्ष नेताहरूलाई घिमिरेले स्मरण गराएका थिए ।
सभामुख घिमिरेले सदन अवरोध खोल्ने विषयमा सोमबार पनि प्रधानमन्त्री, विपक्षी दलका नेता, गृहमन्त्री, प्रमुख सचेतक र सचेतकहरूसँग सभामुख घिमिरेले पटक पटक छलफल गरेका थिए ।