\
कोशी प्रदेशमुख्य समाचारराजनीति

कोसीमा सभामुखलाई राजीनामा गराएरै बहुमत दाबी गर्ने गठबन्धनको तयारी

विराटनगर । कोसी प्रदेशमा सरकार गठनका लागि दाबी पेस गर्न गठबन्धनमा आबद्ध दलले सभामुख बाबुराम गौतमलाई राजीनामा गराउने तयारी गरेका छन् ।

कोशी प्रदेशको गठबन्धनमा आबद्ध दलहरु नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) ले सभामुख गौतमको राजीनामा गराएरै बहुमत दाबी गर्ने तयारी गरेका हुन् ।

कोशीमा नयाँ सरकार गठनको लागि राप्रपाको साथ पाउने आशामा बसेको गठबन्धनले राप्रपाले आफू तत्काल कुनै पनि सरकार गठनमा सहभागी नहुने जवाफ दिएपछि राप्रपाको साथ नपाउने भएपछि यस्तो तयारीमा जुटेको हो ।

राप्रपाको साथ नपाए पनि गठबन्धनले भने प्रदेश प्रमुख पर्शुराम खापुङले दिएको १६ गते बेलुका ५ बजेसम्मको समयसीमाभित्र बहुमतसहित सरकार गठनको दाबी प्रस्तुत गर्ने तयारी गरेको हो ।

प्रदेशसभामा माओवादी केन्द्र संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले साथ नदिए सभामुखलाई राजीनामा गराएर गठबन्धनले सरकारमा दाबी पेस गर्ने तयारी भइरहेको बताए ।

प्रदेशसभामा एमालेका ४०, काँग्रेसका २९, माओवादीको १२, राप्रपाको ६, नेकपा (एकीकृत समाजवादी)को ४ र जसपाको १ सांसद छन् । कोशी प्रदेशमा बहुमतका लागि ४७ जना सांसद संख्या आवश्यक पर्छ ।

सभामुखले राजीनामा दिएको खण्डमा भने दाबी प्रस्तुत गर्न बहुमत ४७ सांसद पुग्छन् । गठबन्धनमा कांग्रेस, माओवादी, नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादी पार्टी (जसपा) आबद्ध छन् ।

सरकार गठनकै लागि सभामुखको राजीनामा गराउने कुराको स्वतन्त्र नागरिक र बुद्धिजीविले भने विरोध गर्दै आएका छन् । अहिले गठबन्धन दलसँग सभामुखबाहेक ४६ मत छ । यता नेकपा (एमाले) का ४० जना र राप्रपातर्फका ६ जना प्रदेशसभा सदस्य गरी ४६ जना नै रहेका छन् ।

Leave a Reply