\
मुख्य समाचारराजनीति

संसदको गतिरोध हटाउनेबारे प्रचण्ड, देउवा र ओलीबीच छलफल जारी

काठमाडौँ । संसद गतिरोध हटाउन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहित नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीबीच निर्णायक छलफल जारी रहेको छ ।

प्रमुख प्रतिपक्षी लगायतले गरेको सङ्घीय संसदको अवरोध खुलाउने विषयमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरवारमा प्रमुख तीन राजनीतिक दलका शीर्ष नेताको बैठक जारी रहेको हो ।

तीन नेताबीच संसद्को अवरोध हटाउने विषयमा हिजो आइतबार पनि छलफल भएको थियो । तर सहमतिबाट ओली पछि हटेको भन्दै आइतबारको प्रतिनिधिसभा बैठक आजलाई सारिएको थियो ।

गत बुधबारदेखि सङ्घीय संसदका दुवै सदनको बैठक प्रमुख प्रतिपक्षीलगायतका दलले अवरोध गरेका कारण अगाडि बढ्न सकेको छैन । अवरोधका कारण मिटरब्याज पीडितलाई न्याय दिनका लागि अगाडि बढाइएको विधेयक निष्क्रिय भएको छ ।

यस्तै, अन्य महत्वपूर्ण विधेयकहरु समेत अगाडि बढ्न सकेको छैन । एमालेले प्रधानमन्त्री प्रचण्डको अभिव्यक्तिलाई लिएर राजीनामा दिनुपर्ने माग गर्दै आएको छ ।

प्रधानमन्त्री प्रचण्डले गएको सोमबार एक पुस्तक विमोचन कार्यक्रमलाई सम्बोधन गर्दै आफूलाई प्रधानमन्त्री बनाउन प्रीतम सिंह पटकपटक भारत गएको अभिव्यक्ति दिएका थिए । एमालेले प्रचण्डले दिएको उक्त अभिव्यक्तिलाई लिएर बैठक अवरुद्ध गर्दै आएको थियो ।

नयाँ वानेश्वरस्थित संसद भवनमा प्रतिनिधिसभाको बैठक आज दिउँसो ३ बजेका लागि बोलाइएको हो । हिजो दिउँसो ३ बजेका लागि तय भएको प्रतिनिधिसभाको बैठक विशेष कारणले स्थगित भएको भन्दै बैठक बस्दै नबसी सूचना टाँसेर आज बस्ने गरी स्थगित गरिएको थियो ।

Leave a Reply