\
कोशी प्रदेशराजनीति

कोशीका मुख्यमन्त्री नियुक्तिविरुद्ध दायर भएको रिटको सर्वोच्चमा आज सुनुवाइ

काठमाडौं । कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाको नियुक्तिविरुद्ध नेकपा (एमाले) ले दायर गरेको रिटको आज सर्वोच्च अदालतमा सुनुवाइ हुँदै छ ।

कोशीका मुख्यमन्त्री थापाको नियुक्तिविरुद्ध प्रमुख प्रतिपक्षी दल एमालेले शुक्रबार सर्वोच्चमा गएको थियो । कोशीका मुख्यमन्त्री थापा नेतृत्वको सरकार अवैधानिक भन्दै एमाले सर्वोच्च अदालत गएको हो ।

शुक्रबार एमाले संसदीय दलका नेता एवं निवर्तमान मुख्यमन्त्री हिक्मत कार्कीले नवनिर्वाचित मुख्यमन्त्री समेतलाई विपक्षी बनाई सर्वोच्चमा रिट दायर गरेका थिए । कार्कीले दायर रिटमा कोसीका प्रदेश प्रमुख पर्शुराम खापुङ, प्रदेश प्रमुखको कार्यालय कोसी प्रदेश; मुख्यमन्त्री उद्धव थापा, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय कोसी प्रदेश र प्रदेशका सभामुख बाबुराम गौतमलाई विपक्षी बनाइएको छ ।

कार्कीले आफ्नो रिटमा संविधानको धारा १६८ (२) बमोजिम सरकार गठन गर्दा सभामुखलाई समेत समावेश गरिनु संविधान विपरीतको कार्य भएको दावी गरेका छन् । निवर्तमान मुख्यमन्त्री कार्कीका तर्फबाट वारेस पवनकुमार निरौलाले शुक्रबार रिट दर्ता गराएका थिए ।

बिहीबार सत्ता गठबन्धन दलले आफ्नो नेतृत्वमा सरकार गठन गर्न प्रदेशसभाका सभामुख गौतमको समेत हस्ताक्षर लिएर बहुमतको सरकारमा दाबी गरेको थियो । सभामुखलाई छुट्टै हस्ताक्षर गर्न लगाएर मुख्यमन्त्रीमा दाबी पेश गरेपछि कांग्रेस संसदीय दलका नेता थापा मुख्यमन्त्री नियुक्त भएका थिए ।

Leave a Reply