कोशी प्रदेशसभाको बैठक बस्दै, निषेधाज्ञामा पनि प्रदर्शन गर्ने पहिचानवादीहरूको तयारी
विराटनगर । कोशी प्रदेशसभाको बैठक आज बस्दैछ । कोशी प्रदेशसभाको बजेट अधिवेशन आजदेखि सुरु हुन लागेको हो ।
प्रदेश सरकारको सिफारिसमा प्रदेश प्रमुख पर्शुराम खापुङले आज आइतबार दिउँसो २ बजेलाई प्रदेशसभामा बजेट अधिवेशन आह्वान गरेका हुन् ।
जिल्ला प्रशासन कार्यालय मोरङले विराटनगरमा धर्ना, विरोधसभा र र्याली गर्न निषेध गरेपनि पहिचानवादीहरूले प्रदर्शन गर्ने तयारी गरेका छन् । स्थानीय प्रशासनले आजदेखि अर्को आदेश नभएसम्मका लागि उक्त निषेध जारी गरेको हो ।
जिल्ला प्रशासन कार्यालयद्वारा जारी सूचनामा कोशी प्रदेश नामकरणप्रति असमत पक्षले विरोधस्वरुप गर्ने धर्ना, जुलुसले नगर क्षेत्रको शान्ति सुरक्षामा असर पर्न सक्ने भएकाले सुरक्षा समितिको निर्णय अनुसार उक्त निषेध जारी गरेको जनाएको छ ।
तर पहिचानवादीहरूले पनि प्रदेशसभाको बजेट अधिवेशनलाई लक्षित गर्दै आन्दोलनको घोषणा गरेका छन् । शुक्रबार विराटनगरमा पहिचानवादीहरूले कोशी नाम खारेजको माग गर्दै शनिबार महेन्द्र चोकमा प्रदर्शन गरेका थिए । आज उनीहरुले वृहत् र फरक तरिकाले आन्दोलन गर्ने बताएका छन् ।
प्रमख जिल्ला अधिकारी वीरेन्द्रकुमार यादवले जारी गरेको सूचनामा पूर्वमा देवकोटा चोकदेखि पश्चिममा कोशी अस्पताल चोकसम्मको क्षेत्र, मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयदेखि–रोडशेष चोक र दक्षिण जतुवा चोकसम्मको क्षेत्र, मुख्यमन्त्री निवास वरिपरि तीन सय मिटरको क्षेत्र, प्रदेश प्रमुखको कार्यालय तथा निवास वरिपरि तीन सय मिटरसम्मको क्षेत्र र जिल्ला प्रशासन कार्यालय मोरङ–डाँफे चोकदेखि पूर्वको क्षेत्रलाई निषेधित क्षेत्र घोषणा गरिएको छ ।