संसदमा आजदेखि प्रि–बजेट बारेमा प्रारम्भिक छलफल सुरु हुँदै
काठमाडौं । संघीय संसदअन्तर्गत प्रतिनिधिसभामा आजदेखि बजेटका सिद्धान्त तथा प्राथमिकता (प्रि–बजेट) माथि प्रारम्भिक छलफल सुरु हुँदै छ । नयाँवानेश्वरस्थित संघीय संसद भवनमा आज बिहान ११ बजेका लागि प्रतिनिधिसभाको बैठक बोलाइएको छ ।
सरकारले आइतबारदेखि संघीय संसद्मा आगामी आर्थिक वर्ष २०८०/८१ को बजेटको सिद्धान्त र प्राथमिकतामाथि छलफल सुरु गरेको छ । अर्थमन्त्री डा. प्रकाशशरण महतले हिजो आइतबार बजेटका सिद्धान्त तथा प्राथमिकता प्रस्तुत गरेका थिए । आजदेखि सोही विषयमै केन्द्रित रहेर छलफल हुन लागेको हो ।
प्रतिनिधि सभाको दोस्रो अधिवेशनमा हिजो अर्थमन्त्री महतले ‘आर्थिक वर्ष २०८०/८१ को लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा (कर प्रस्तावबाहेक) माथि छलफल गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गरे ।
हिजो बसेको प्रतिनिधिसभा कार्य व्यवस्था समितिको बैठकले उक्त निर्णय गरेअनुसार आजदेखि प्रि-बजेटका बारेमा छलफल हुने भएको हो । संसद् सचिवालयका अनुसार आज बिहान ११ बजेदेखि बेलुका ५ बजेसम्म प्रि–बजेटमाथि छलफल हुनेछ ।
२७ गते अर्थमन्त्री डा. प्रकाशशरण महतले जवाफ दिने कार्यक्रम रहेको सचिवालयले छ । प्रि–बजेट छलफलमा सांसदहरूले उठाएका प्रश्नको जवाफ अर्थमन्त्रीले दिएपछि सरकारको नीति तथा कार्यक्रम आउनेछ । जेठ १५ गते बजेट प्रस्तुत गर्ने संवैधानिक प्रावधान रहेको छ ।