\
मुख्य समाचारराजनीति

सभापति देउवालाई महामन्त्री थापाको चेतावनी- अब त अति भयो

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पार्टी सभापति शेरबहादुर देउवाप्रति पार्टीभित्र सीमा रहेको तर अब अति भएको भन्दै आक्रोश पोखेका छन् ।

सामाजिक सञ्जाल ट्वीटरमा आज साँझ लेख्दै उनले पार्टी सभापति देउवाप्रति तीव्र असन्तुष्टि ओकलेका हुन् । उनले पार्टी संस्थापनप्रति आफ्नो तीतो यथार्थ पोख्दै अव आफू चुप लागेर नबस्ने चेतावनी दिएका हुन् ।

उनले आफूलाई कहिले प्रक्रिया चित्त नबुझेको, कहिले पद्धति, कति निर्णयहरू मन नपरेको, कति आफूले राखेका विषयले प्रवेश नै अपाएको, धेरै पटक प्रतिरोध गर्न मन लागेको, तर हरेक पटक सोचेँर आफू जिम्मेवारी लिएर बसेकोले एउटा सीमामा रहेको स्पष्ट पारेका छन् ।

उनले आफू पार्टीको महामन्त्री भएको सीमाले कहिले मौन रहेँको त कहिले भित्रै आफ्ना मत र अडान राखेँर लडे पनि पार्टीका आफ्ना सहकर्मीहरूलाई सम्झाउँदा पनि आफ्नो माग सम्वोधन नभएकोले अब त अति भयो भनेर आक्रोश पोखेका हुन् ।

हालसम्म पार्टीको जिम्मेवारी र सीमाका कारण प्रतिरोध गर्न नसकेपनि अब चुप लागेर नबस्ने भन्दै आफू पनि पार्टीको निर्वाचित महामन्त्री भएकोले पार्टीमा आफ्नो विचारको सुनुवाई हुनुपर्ने र प्रभावकारी भूमिकाको जोडदार माग गरेका हुन् ।

यसअघि पनि सभापति देउवाले पार्टी एकलौटी ढंगले चलाएको भनेर आलोचना गर्दै आएका महामन्त्री थापाले मन्त्रिमण्डल विस्तारमा आफ्नो संस्थापनइतर समूहबाट माग गरिएबमोजिम मन्त्रीहरु नबनाएकोमा आक्रोश व्यक्त गरेको आंकलन गरिएको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आज कांग्रेसका सभापति देउवाको सिफारिसमा सुरेन्द्र आचार्यलाई महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री नियुक्त गरेका छन् । उनी राष्ट्रपति रामचन्द्र पौडेलनिकट मानिन्छन् ।

महामन्त्री थापाले थप मन्त्रालय आफ्नो संस्थापनइतर समूहले पाउनुपर्ने अडान राख्दै आएका थिए । तर सभापति देउवाले राष्ट्रपति पौडेलनिकट आचार्यलाई मन्त्री बनाएकोले उनले देउवाको कदमप्रति चरम असन्तुष्टि प्रकट गरेका हुन् ।

गगनले आफूनिकट जीवन परियार, प्रदीप पौडेल र बद्री पाण्डेमध्ये एक जनालाई मन्त्री बनाउनुपर्ने सर्त राखेका थिए तर काँग्रेसबाट मन्त्री हुनेहरुमा संस्थापन देउवा पक्षको बर्चस्व रहेको छ भने केही शेखर पक्षबाट पनि बनेका छन् । अव गगन आफू निर्वाचित महामन्त्री भएकोले अव शेखरको पछाडि पनि नलाग्ने संकेत गरेका छन् ।

उनले ट्वीटरमा लेखेका छन्, ‘कहिले प्रक्रिया चित्त बुझेन, कहिले पद्धति, कति निर्णयहरू मन परेनन्, कति आफूले राखेका विषयले प्रवेश नै पाएनन्, धेरै पटक लाग्यो प्रतिरोध गरूँ, तर हरेक पटक सोचेँ, म जिम्मेवारी लिएर बसेको छु, एउटा सीमा छ। त्यसैले कहिले मौन रहेँ त कहिले भित्रै आफ्ना मत र अडान राखेँ, लडे, साथीहरूलाई सम्झाएँ तर अब त अति भयो !’

Leave a Reply