\
मुख्य समाचारराजनीति

मलमा अनुदान घटाउने निर्णय फिर्ता लिन सरकारलाई राप्रपा अध्यक्षको आग्रह

काठमाडौँ । रासायनिक मलको खरिदमा कृषकलाई दिँदै आएको अनुदान घटाउने निर्णय फिर्ता लिन सरकारलाई राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले आग्रह गरेका छन् ।

सामाजिक संजालमा आज राती लेख्दै अध्यक्ष लिङ्देनले किसानले रासायनिक मलमा पाउँदै आएको अनुदान घटाउन हठात् गरिएको निर्णय अनुचित भएको भन्दै उक्त निर्णय तत्काल फिर्ता लिन आग्रह गरेका हुन् ।

उनले सुलभ ढंगले मल आपुर्ति व्यवस्था मिलाउन र मल आपुर्ति समस्याको दीर्घकालीन समाधानका लागि देशभित्रै मल कारखाना स्थापनाको प्रक्रिया प्रारम्भ गर्न सरकारको ध्यानाकर्षण समेत गराएका छन् ।

कृषि तथा पशुपन्छी विकास मन्त्रालयकाअनुसार मल आपूर्ति तथा वितरण व्यवस्थापन समितिको आजको बैठकले अनुदान घटाउने निर्णय गरेको थियो । कृषि मन्त्रालयले आज एक प्रेस विज्ञप्ति जारी गर्दै रासायनिक मलमा यसअघि समग्रमा ७० दशमलव ८२ प्रतिशत बराबर अनुदान दिइरहेकोमा अब ५९ दशमलव ०४ प्रतिशत कायम गरिएको र दरलाई क्रमशः ५० प्रतिशतमा झारिने बताएको थियो ।

उनले लेखेका छन्, ‘किसानले रासायनिक मलमा पाउँदै आएको अनुदान घटाउन हठात् गरिएको निर्णय अनुचित छ । यो निर्णय तत्काल फिर्ता लिन, सुलभ ढंगले मल आपुर्ति व्यवस्था मिलाउन र मल आपुर्ति समस्याको दीर्घकालीन समाधानका लागि देशभित्रै मल कारखाना स्थापनाको प्रक्रिया प्रारम्भ गर्न सरकारको ध्यानाकर्षण गराउँदछु ।’

यो पनि पढ्नुहोस्

सरकारले घटायो रासायनिक मलमा दिँदै आएको अनुदान

Leave a Reply