घर फर्किंदै गर्दा बाटामा ओलीले स्कूले नानीबाबूहरू देखेपछि…
काठमाडौँ । पूर्वप्रधानमन्त्री समेत रहेका नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पार्टी कार्यालयबाट आफ्नो निजी निवास बालकोट फर्किंदै गर्दा आफ्नो गाडीबाट ओर्लिएर बाटोमा स्कूल छुटेर फर्किंदै गरेका नानीबाबूहरूसँग रमाइलो भेटवार्ता गरेका छन् ।
आज शुक्रवार ललितपुरको च्यासलमा रहेकाे पार्टी केन्द्रीय कार्यालयमा आयोजित पार्टी निकट नेपाल खेलकुद महासङ्घको नवनिर्वाचित केन्द्रीय कमिटीको शपथ ग्रहण समारोह कार्यक्रम सकिएपछि बालकोट फर्किंदै गर्दा बाटोमा गाडीबाट ओर्लिएर साना नानीबाबूहरूसँग भलाकुसारी गरेपछि बाटामा पोलेको मकै समेत खाएका छन् ।
उनले नजिकै एकजना युवतीले मकै पोलेर बेचिरहेको देखेपछि पोलेको मकै खाएपछि एकदम मज्जा पनि आएको उल्लेख गरेका छन् । देशको प्रधानमन्त्री भइसकेको व्यक्तिले गाडी रोकेर आफ्नो यूवा अवस्थाको झझल्को सम्झदै भलाकुसारी गर्ने ओलीलाई मन लागेको हुनसक्छ ।
राजनीतिक गर्दा-गर्दै जेष्ठ नागरिक भइसकेका ओलीलाई देशका यूवाको भावना र दृष्टिकोण बुझ्ने जिज्ञाषा भएको हुनसक्छ । बेला-बेला जनताको नेता बन्न ओलीले यस्ता हर्कत गर्दै आएका छन् ।
उनले सामाजिक संजालमा लेखेका छन्, ‘पार्टी कार्यालयबाट घर फर्कंदै थिएँ, बाटोमा स्कूल छुटेर फर्किंदै गरेका नानीबाबूहरूसँग रमाइलो भेट गर्ने अवसर मिल्यो । नजिकै एकजना बहिनी मकै पोलेर बेचिरहनु भएको रैछ, पोलेको मकै खाएँ । एकदम मज्जा लाग्यो ।’
पार्टी कार्यालयबाट घर फर्कंदै थिएँ, बाटोमा स्कूल छुटेर फर्किंदै गरेका नानीबाबूहरूसँग रमाइलो भेट गर्ने अवसर मिल्यो। नजिकै एकजना बहिनी मकै पोलेर बेचिरहनु भएको रैछ, पोलेको मकै खाएँ । एकदम मज्जा लाग्यो। pic.twitter.com/ENxrdm6ihc
— K P Sharma Oli (@kpsharmaoli) March 10, 2023
तस्वीर : ओलीको सचिवालय