‘रवि लामिछानेले दोहोरो राहदानी दुरुपयोग गरेको भेटिएन’
काठमाडौं । अध्यागमन विभागले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दोहोरो राहदानी दुरुपयोग गरेको नभेटिएको बताएको छ । विभागले सरकारी वकिलको कार्यालयलाई जवाफ दिंदै लामिछानेले पछिल्लोपटक लिएको राहदानी प्रयोग गरेर विदेश नगएको भेटिएको स्पष्ठ पारेको हो ।
लामिछानेसँग दोहोरो राहदानी रहेको र अमेरिकी नागरिकता त्यागेपछि मात्र नेपाली राहदानी प्रयोग गरेको हुँदा सोलाई दुरुपयोग भन्न नमिल्ने निष्कर्ष विभागले निकालेको हो । विभागले सरकारी वकिलको कार्यालयलाई लिखित प्रतिवेदन पनि बुझाइसकेको बताइएको छ ।
सर्वोच्च अदालतले गत माघ १३ गते नेपालको नागरिकता पुनः प्राप्तिको प्रक्रिया पूरा नगरेको भन्दै लामिछानेको सांसद पद खारेज गरिदिएको थियो । सांसद पद खारेज भएलगत्तै लामिछानेले नेपालको नागरिकता पुनः प्राप्तिको प्रक्रिया पूरा गरी माघ १५ गते जिल्ला प्रशासन कार्यालय, काठमाडौंबाट नागरिकता पुनः प्राप्त गरेका थिए ।
सर्वोच्चले नेपाली नागरिकता पुनः प्राप्तिका लागि प्रक्रिया पूरा नगरेको भन्दै लामिछानेको सांसद पद बदर गरेको थियो । सो फैसलासँगै उनले सांसद, मन्त्री र राष्ट्रिय स्वतन्त्र पार्टी सभापतिको पद खारेज भएको थियो ।
उनले अमेरिकी नागरिकता त्यागे पनि लामिछानेले नेपाली नागरिकताको पुनः प्राप्तिका लागि निवेदन नदिएपछि उनको सांसद पद गएकोले अव आगामी वैशाख १० गते उपनिर्वाचन हुँदैछ ।