राष्ट्रपतिको उम्मेदवारमा पौडेल र नेम्वाङको अन्तिम नामावली प्रकाशन
काठमाडौँ । राष्ट्रपति निर्वाचन प्रक्रियाअन्तर्गत आज उम्मेदवारहरुको अन्तिम नामावली प्रकाशन गरिएको छ । निर्वाचन आयोगले राष्ट्रपति पदको उम्मेदवारमा नेपाली कांग्रेसका रामचन्द्र पौडेल र नेकपा (एमाले) का सुवासचन्द्र नेम्वाङको अन्तिम नामावली प्रकाशन गरेको हो ।
निर्वाचन अधिकृतको कार्यालयका अनुसार आज ४ बजेसम्म उम्मेदवारी फिर्ता लिने समय निर्धारण गरेको भए पनि दुवै नेताले फिर्ता नलिएपछि दुवैको उम्मेदवारी कायम भएको हो ।
राष्ट्रपति निर्वाचन प्रक्रियाअन्तर्गत आज उम्मेदवारी फिर्ता लिन चाहने उम्मेदवारले उम्मेदवारी फिर्ता लिनसक्ने आयोगले जनाएकोमा दुवै जनाले नाम फिर्ता नलिएकोले आयोगले पौडेल र नेम्वाङको अन्तिम नामावली प्रकाशन गरेको हो ।
यसअघि शनिबार उम्मेदवारी दर्ता गरिएको थियो । कांग्रेसका नेता पौडेल र एमाले नेता नेम्वाङले राष्ट्रपतिको निर्वाचनका लागि उम्मेदवारी दर्ता गराएका थिए । निर्वाचन अधिकृतको कार्यालयले राष्ट्रपति तथा उपराष्ट्रपति निर्वाचन सम्बन्धी ऐन २०७४ को दफा २३ बमोजिम प्रकाशित अन्तिम नामावलीमा पौडेल र नेम्वाङ रहेका छन् ।
पौडेल नयाँ आठ दलीय गठबन्धनको समर्थनमा साझा उम्मेदवार हुन् । उम्मेदवारी दर्तामा आठ दलका शीर्ष नेता पौडेलका प्रस्तावक र समर्थक रहेका थिए । निर्वाचन कार्यतालिका अनुसार राष्ट्रपतिका लागि फागुन २५ गते बिहान १० बजेदेखि ३ बजेसम्म मतदान हुनेछ ।
प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाका अनुसार अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रलाई मतदानस्थल तोकिएको छ । मतदानका लागि दुईवटा मतदान केन्द्र रहनेछन् । प्रदेशसभाका सदस्य ५५० र संघीय संसदका ३३२ गरी ८८२ मतदाता रहेका छन् ।