सांसद भण्डारीलाई एयर एम्बुलेन्समार्फत उपचारका लागि भारत लगियो
काठमाडौँ । बुधबार राति एलपीजी ग्यास सिलिण्डर विस्फोटबाट घाइते भएका नेपाली काङ्ग्रेस नेता एवं प्रतिनिधिसभा सदस्य डा. चन्द्रकान्त भण्डारीलाई थप उपचारका लागि भारत लगिएको छ ।
ग्यास सिलिण्डर विष्फोटबाट घाइते भएका सांसद भण्डारीलाई भारतको मुम्बइस्थित नेशनल वर्न सेन्टरमा लगिएको हो । आज दिउँसो श्री एयरलाइन्समार्फत् मुम्बइ लगिएको हो । भण्डारीलाई थप उपचारका लागि चिकित्सकको टोलीसहित मुम्बईमा लगिएको हो ।
उनीसँगै ६ जनाको मेडिकल टिम पनि गएको छ । क्रिटिकल केयर युनिटका डा. प्रदीप तिवारी, एनेस्थेसिया क्रिटिकल केयरका डा. वृहस्पति, फ्लाइट डा. रोसन शर्मा, प्यारामेडिक्सतर्फका दिनेश राई, सागर महर्जन र राज तामाङ गएका हुन् ।
स्वास्थ्य अवस्था जटिल भएपछि भण्डारीलाई भारत लैजान अस्पतालले सिफारिस गरेको थियो । उनको नेपालमा यथोचित उपचार सम्भव नभएपछि त्यसतर्फ लागिएको हो । हिजो राति घाइते भएका नेता डा. भण्डारीको कीर्तिपुरस्थित कीर्तिपुर बर्न अस्पतालमा उपचार गरिएको थियो ।
अस्पतालले आज विज्ञप्ति जारी गरी उपलब्ध साधन र स्रोतबाट उनको यथोचित उपचार नेपालमा सहज नहुने देखिएकाले देशबाहिरका सुविधा सम्पन्न स्वास्थ्य संस्थामा यथाशीघ्र स्थानान्तरण (सिफारिस) गरेको हो ।
निवासमा ग्यास सिलिन्डर विस्फोट हुँदा सांसद डा. भण्डारीसहित उनकी आमा हरिकला भण्डारी घाइते भएका थिए । आमा हरिकलाको भने उपचारका क्रममा बिहान निधन भएको छ । नेता डा. भण्डारीको दुवै हात र दुवै गोडा गरी २५–३० प्रतिशत जलन भएको अस्पतालले जनाएको छ ।
यो पनि पढ्नुहोस्
सांसद भण्डारीलाई दिउँसो २ बजे श्री एयरलाइन्समार्फत् मुम्बइ लैजाने
नेता भण्डारीलाई थप उपचारको लागि भारत लैजाने तयारी
ग्यास सिलिन्डर विस्फोटमा गम्भीर घाइते भण्डारीलाई भारत लैजान सिफारिस