लुम्बिनीका मुख्यमन्त्री लिला गिरीले पाए विश्वासको मत
रुपन्देही । लुम्बिनी प्रदेशका नवनियुक्त मुख्यमन्त्री लिला गिरीले आज विश्वासको मत पाएका छन् । मुख्यमन्त्री गिरीले बसेको प्रदेशसभाको बैठकबाट विश्वासको मत लिएका हुन् ।
आज बिहीबार बसेको प्रदेशसभाको बैठकमा ८६ जना सांसद उपस्थित भएकोमा मुख्यमन्त्री गिरीले पेस गरेको विश्वासको मतसम्बन्धी प्रस्तावको पक्षमा ५७ सांसदले मत प्राप्त गरेका छन् भने प्रस्तावको विपक्षमा २८ मत परेको हो ।
उनी ५८ प्रदशसभा सदस्यको समर्थनमा गत पुस २७ गते मुख्यमन्त्रीमा नियुक्त भएका थिए । मुख्यमन्त्री गिरीलाई नेकपा (एमाले) का २९, नेकपा (माओवादी केन्द्र) का १०, राष्ट्रिय प्रजातन्त्र पार्टीका चार, नागरिक उन्मुक्ति पार्टीका चार, जसपाका तीन, जनमत पार्टीका तीन, लोकतान्त्रिक समाजवादी पार्टीका तीन र दुई स्वतन्त्र प्रदेशसभा सदस्यको समर्थन गरेका थिए ।
८७ सदस्यीय प्रदेशसभामा बहुमतका लागि ४४ मत आवश्यक पर्दथ्यो । संविधानको धारा १६८ को उपधारा ४ अनुसार मुख्यमन्त्री नियुक्त भएको ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ ।