राजनीतिमा पनि फुटबलमा जस्तो फउल खेले रेडकार्ड पाएर आउट हुन्छ : अध्यक्ष ओली
काठमाडौँ । पूर्वप्रधानमन्त्री समेत रहेका नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले फुटबलमा जस्तै राजनीतिमा पनि फउल खेले रेडकार्ड पाएर आउट हुने टिप्पणी गरेका छन् ।
मदन भण्डारी स्पोर्टस एकेडेमीको १४औँ स्थापना दिवसका अवसरमा आज आयोजना गरेको कार्यक्रममा अध्यक्ष ओलीले नेपाली काँग्रेसप्रति कटाक्ष गर्दै फउल खेल्यो भने खेलकुदमा जस्तै राजनीतिमा पनि आउट हुने जोखिम रहेको बताए ।
ओलीले भर्खरै दिवंगत लेजेन्ड ब्राजिलियन फुटबलर पेले र अर्जेन्टिनाका विश्वविजेता लियोनेल मेस्सीको नाम लिँदै राम्रो खेल्नेले कहिले फउल नगर्न पनि तर्क गरेका छन् । उनले फउल खेलेमा एल्लो कार्ड र रातोकार्ड पाएर आउट हुने तर्क गरे ।
उनले मेस्सीले प्राय: फउल गर्दै नगर्ने भएकोले उसलाई एलोकार्ड वा रातोकार्ड देखाउनै नपर्ने बताए । उनले राम्रो खेलाडीले बल खेलाएर गोल गर्ने भन्दै मेस्सी या म्बाप्पे या रोनाल्डोले राम्ररी फुटबल खेल्ने तर उनीहरुले फल नगरी गोल गरेर आफ्नो टिमलाई जिताउने गरेको बताए ।
ओलीले फुटबललाई राजनीतिसंग तुलना गर्दै आफूले प्रचण्डलाई प्रधानमन्त्री बनाएकोमा निवर्तमान प्रधानमन्त्री एवं कांग्रेसका सभापति शेरबहादुर देउवालाई कटाक्ष गर्दै आफूलाई प्रतीकात्मक रुपमा पेले र मेस्सीसंग तुलना गर्दै आफूलाई नेपाली राजनीतिको सफल खेलाडीको रुपमा पुष्टि गर्न खोजेका हुन् ।
सरकारले खेल क्षेत्रलाई प्राथमिताका दिनुपर्ने बताए । “सरकारले खेल क्षेत्रलाई प्राथमिकता दिनुपर्छ, खेल क्षेत्रलाई सरकारले विशेष रुपमा हेर्नुपर्छ, अहिले खेलकुदमन्त्री हुनुहुन्न, म खेलकुदमन्त्री बनेपछि यस विषयमा कुरा गर्नेछु ।” पूर्वप्रधानमन्त्री ओलीले भने ।
राजनीतिक वा अन्य काम गर्दा समाज कुनै पनि गल्ती गर्न नहुनेमा जोड दिँदै उनले भने, “हामीलाई ‘फाउल’ नखेल्ने सफल समाज चाहिएको हो, राजनीतिमा पनि धेरै फाउल खेल्यो भने ‘रेडकार्ड’ नै मिल्छ ।” उहाँले खेलले अनुशासन सिकाउने उल्लेख गर्दै अनुशासनले मानिसलाई सफल बन्न मद्दत गर्ने बताए ।
“खेलकुद, खेलशिक्षाको क्षेत्रमा अभ्यास, खेल र व्यायाम सबै कुरालाई सँगसँगै मिलाएर लैजानुपर्छ, मदन भण्डारी स्पोर्टस एकेडेमीको धेरै राम्रो गरेर जानेछ”, अध्यक्ष ओलीले भने, “त्यसले आफ्नो स्वास्थ्य, राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरसम्म राम्रो मित्रता कामय गर्न सकिन्छ ।”
कूटनीतिमा पनि खेल क्षेत्र राम्रो माध्यम बन्न सक्ने उल्लेख गर्दै उनले भने, “घनिष्ट मित्रता नभएको देशमा पनि खेलका माध्यमबाट मित्रता जोड्न सकिन्छ, खेल र अनुशासन एकअर्काको अभिन्न अङ्ग हो ।”