डा. दिनमणि पोखरेल महान्यायाधिवक्तामा सिफारिस
काठमाडौँ । सरकारको कानुनी सल्लाहकार महान्यायाधिवक्ता पदमा अधिवक्ता डा. दिनमणि पोखरेल नियुक्त हुने भएका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पोखरेललाई महान्यायाधिवक्तामा सिफारिस गर्ने निर्णय गरेका छन् ।
प्रधानमन्त्री दाहालले पोखरेललाई महान्यायाधिवक्ता नियुक्तिका लागि राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सिफारिस गरेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले महान्यायाधिवक्ताको नियुक्ति गर्ने संवैधानिक व्यवस्था छ । पोखरेललाई शीतलनिवासमा राष्ट्रपतिले शपथ ग्रहण गराउने तयारी गरिएको छ ।
कानुनमा विद्यावारिधि गरेका पोखरेल माओवादीनिकट अधिवक्ता मानिन्छन् । यसअघि पोखरेल सर्वोच्च अदालतको न्यायाधीशमा जाने चर्चा पनि चलेको थियो ।
प्रधानमन्त्रीमा प्रचण्ड नियुक्त भएसँगै सरकारको कानुनी सल्लाहकारको रुपमा महान्यायाधिवक्ता पोखरेललाई नियुक्त गर्न लागिएको हो । पोखरेल यसअघि तत्कालीन सभामुख ओनसरी घर्तीको कानुनी सल्लाहकारको रुपमा पनि रहेका थिए ।