\
मुख्य समाचारराजनीति

गैरराजनीतिक व्यक्ति राष्ट्रपति बन्न सक्दैन : काँग्रेस उपसभापति खड्का

काठमाडौँ । नेपाली काँग्रेसका उपसभापति पूर्णबहादुर खड्काले गैरराजनीतिक व्यक्ति राष्ट्रपति बन्न नसक्ने स्पष्ट पारेका छन् । सामाजिक संजाल ट्वीटरमा आज बिहान लेख्दै उपसभापति खड्काले राष्ट्रपति काे बन्ने भन्ने चर्चाले गम्भीर बनाएको भन्दै गैरराजनीतिक व्यक्ति राष्ट्रपति हुन नसक्ने भन्दै स्पष्ट पारेका हुन् ।

उनले राष्ट्रपति देश, जनता र संबिधानसभाले बनाएकाे संविधानप्रति दिल-दिमागदेखि पूर्ण रुपमा प्रतिबद्ध भएकाे ब्यक्ति बन्नु पर्छ भन्ने कुरामा नेपाली काँग्रेस पार्टीले कसैसंग सम्झाैता गर्न नसक्ने भएको गैरराजनीतिक व्यक्ति राष्ट्रपति बनाउनु नहुने आफ्नो धारणा सार्वजनिक गरेका हुन् ।

स्वयम् प्रधानमन्त्री समेत रहेका काँग्रेस सभापति शेरबहादुर देउवा समेत पार्टीभित्रैबाट राष्ट्रपति बन्न दबाब बढेपछि ‘गैरराजनीतिक व्यक्ति’को खोजी थालेको समाचारहरु संचारमाध्यममा प्रकाशित भएका छन् । भावी राष्ट्रपतिमा गैरराजनीतिक व्यक्तिहरु व्यापक रुपमा चर्चा-परिचर्चा चलेका बेला काँग्रेस उपसभापति खड्काको यस्तो धारणा बाहिर आएको हो ।

छैटौ पटक प्रधानमन्त्री बन्ने रणनीतिमा रहेका देउवाको लागि राष्ट्रपति बन्नु सम्मानजनक राजनीतिक बहिर्गमन हुने भन्दै पार्टीभित्रैबाट उनलाई राष्ट्रपति बन्न प्रस्ताव गरिएपछि देउवाले गैरराजनीतिक व्यक्तिसँगको छलफललाई तीव्रता दिएका छन् । देउवाले मंगलबार मात्र पूर्वप्रधानन्यायाधीश समेत भइसकेका मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मीसँग बालुवाटारमा छलफल गरेका थिए ।

प्रधानमन्त्री देउवारुदेखि राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष समेत भइसकेका नेपाली काँग्रेसका केन्द्रिय सदस्य डा. गोविन्दराज पोखरेलले सामाजिक संजाल ट्वीटरमा राष्ट्रपतिमा गैरराजनीतिक व्यक्तिहरु खिलराज रेग्मी, डा. सन्दुक रुइत र डा. केदारभक्त माथेमाको चर्चा चलाएका छन् ।

पूर्वप्रधानन्यायाधीशलाई राष्ट्रपति बनाउन प्रधानमन्त्री देउवा नै लागेपछि सत्ता गठबन्धनभित्र पनि प्रश्न उठेको छ । गैरराजनीतिक व्यक्ति राष्ट्रपति बनाउने चर्चा चलेसंगै प्रमुख सत्तारुढ दल काँग्रेसभित्रै ठूलो विवाद उत्पन्न भएको छ ।

संस्थापन पक्षकै काँग्रेस उपसभापति खड्का पनि देउवाको विपक्षमा उत्रेका हुन् । यसका साथै कांग्रेस महामन्त्री विश्वप्रकाश शर्मा पनि गैरराजनीतिक व्यक्ति राष्ट्रपति बनाउने देउवाको इच्छाप्रति अप्रत्यक्ष रुपमा विपक्षमा देखिएका छन् ।

देउवाले गैरराजनीतिक व्यक्तिलाई राष्ट्रपति बनाउन गृहकार्य सुरु गरेपछि सत्ता साझेदार दल रुढ नेकपा (माओवादी केन्द्र) मा भने तरंग नै पैदा भएको छ । प्रधानमन्त्री देउवाले पूर्वप्रधानन्यायाधीश तथा अन्तरिम मन्त्रिपरिषदका पूर्व अध्यक्ष खिलराज रेग्मी वा सो सरहका व्यक्तिलाई राष्ट्रपति बनाउनेगरी गृहकार्य गरेको समाचार बाहिर आएपछि माओवादी केन्द्रका नेताहरु सशंकित बनेका हुन् ।

माओवादी केन्द्रका महासचिव देव गुरुङले राजनीतिक पृष्ठभूमिभन्दा बाहिर गएर राष्ट्रपति बनाउने कुरा सोच्न पनि नसकिने बताएका छन् । संवाद डबलीले शुक्रबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै गुरुङले मुलुकमा आर्थिक तथा वैदेशिक हस्तक्षेप चुलिएको बेला राजनीतिक पृष्ठभूमिभन्दा बाहिर गएर राष्ट्रपति बनाउने कुरा राष्ट्रिय आत्मसमर्पणवादी चिन्तन हुने बताएका हुन् ।

एकीकृत समाजवादी महासचिव बेदुराम भुसाल गैरराजनीतिक व्यक्तिलाई राष्ट्रपतिमा ल्याउनु गलत हुने टिप्पणी गर्दै यस विषयमा गठबन्धनभित्र गम्भीर छलफल हुनुपर्ने उनको धारणा रहेको छ । राष्ट्रिय जनमोर्चा अध्यक्ष चित्रबहादुर केसी राजनीतिक परिवर्तनका लागि योगदान गरेको व्यक्ति राष्ट्रपति हुनुपर्ने बताउँछन् ।

उनले लेखेका छन्, ‘राष्ट्रपति काे बन्ने भन्ने चर्चाले गम्भिर बनायाे ? मेराे प्रष्ट धारणा छ;- राष्ट्रपति- देश,जनता र संबिधानसभाले बनाएकाे संविधान प्रति दिल-दिमाग देखि पूर्ण रुपमा प्रतिबद्ध भएकाे ब्यक्ति बन्नु पर्छ याे कुरामा नेपाली काँग्रेस पार्टी कसै संग सम्झाैता गर्न सक्तैन, गर्नु हुदैन ।’

यो पनि पढ्नुहोस्

भावी राष्ट्रपतिमा डा. सन्दुक रुइतको पनि चर्चा सुरु

Leave a Reply