ओलीले प्रकाशमानमार्फत देउवालाई पठाए सत्ता सहकार्यको प्रस्ताव
काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री समेत रहेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई आगामी सत्ता सहकार्य गर्नका लागि प्रस्ताव पठाएका छन् ।
आज आइतबार बिहान एमाले अध्यक्ष ओलीलाई भेट्न बालकोट पुगेका काँग्रेसका नेता एवं काँग्रेसको तर्फबाट काठमाडौं निर्वाचन क्षेत्र नम्वर १ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित प्रकाशमान सिंहमार्फत ओलीले देउवालाई काँग्रेससंग सत्ता सहकार्य गर्ने एमाले तयार रहेको राजनीतिक सन्देश पठाएका हुन् ।
नेता सिंह पहिला प्रधानमन्त्री देउवालाई भेटेर ओलीलाई भेट्न आज बिहान बालकोट पुगेका थिए । भेटमा सिंह र झापा निर्वाचन क्षेत्र नम्वर ५ वाट निर्वाचित एमाले अध्यक्ष ओलीबीच बधाइ साटासाट हुनुको साथै आगामी सत्ता सहकार्यबारे छलफल भएको सिंहको सचिवालयले बताएको छ ।
यसअघि पूर्वप्रधानमन्त्री समेत रहेका एमालेका अध्यक्ष ओलीले नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई टेलिफोन संवाद गरेर प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएकोमा जितको बधाई साटासाट गर्नुका साथै सम्भावित सहकार्यबारे जिज्ञासा राखेका थिए ।
चुनावमा विजय भएपछि बधाई दिनका लागि एमाले अध्यक्ष ओलीले टेलिफोन गर्दै उनले विगतको पुरानो तिक्तता बिर्सेर भविष्यमा मिलेर अगाडि बढ्न आग्रह गर्दै सत्ता सहकार्यबारे कुरा गरेका थिए ।
यस्तै नेकपा (माओवादी केन्द्र) को पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा हिजो बसेको पदाधिकारी बैठकले नयाँ सरकार गठनका सम्बन्धमा सबै विकल्प खुला राख्ने भएको छ । सो पार्टीको हिजोको पदाधिकारीको बैठकले सरकार गठनका सम्बन्धमा गठबन्धन र अन्य सबै विकल्प खुला राख्ने निर्णय गरेको थियो ।
माओावादी केन्द्रको पदाधिकारी बैठक आज दिउँसो २ बजेपछि पार्टी कार्यालय पेरिसडाँडामा आज बस्दैछ । आजको बैठकले नयाँ सरकार निर्माणमा जानका लागि गठबन्धनलाई नै निरन्तरता दिने वा नेकपा एमालेसँग सहकार्य गरेर अघि बढ्ने भन्ने बारेमा छलफल हुनसक्ने बताइएको छ ।
यो पनि पढ्नुहोस्