चुनावी सभामा पुगेका पूर्वमन्त्री विरोध खतिवडामाथि हातपात
हेटौंडा । पूर्व स्वास्थ्य तथा जनसंख्या मन्त्री समेत रहेका नेकपा (एकीकृत समाजवादी) का नेता विरोध खतिवडामाथि आज मंगलबार दिउँसो हातपात भएको छ ।
मकवानपुर जिल्ला क्षेत्र नम्वर २ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार रहेका खतिवडामाथि जिल्लाको मनहरी गाउँपालिका-४ मसिनेमा चुनावी सभामा जाने क्रममा उनलाई ५० वर्षीय पुरुषोत्तम खड्काले हातपात गरेका मकवानपुर प्रहरीले जनाएको छ ।
हेटौँडाका खड्कालाई नियन्त्रणमा लिइ सोधपुछ भइरहेको प्रहरीले बताएको छ । सभास्थलमा आइपुगेका खतिवडालाई गाडीबाट ओर्लने बित्तिकै दुई झापट हानेको खड्काले प्रहरीलाई बताएका छन् । उनलाई उम्मेदवारमाथि अभद्र व्यवहार मुद्दा चलाइने प्रहरीले बताएको छ ।