हाम्रा विरोधीलाई धरहरा हेर्दा मुटुमा सुइरो रोपेझैँ हुन्छ : अध्यक्ष ओली
काठमाडौं । पूर्वप्रधानमन्त्री समेत रहेका प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष कमरेड केपी शर्मा ओलीले आफ्ना विरोधीलाई धरहरा हेर्दा मुटुमा सुइरो रोपेझैँ हुने गरेको भनेर कटाक्ष गरेका छन् ।
काठमाडौं क्षेत्र नम्वर १ मा पार्टीका उम्मेदवार किरण पौडेलको चुनावी प्रचार कार्यक्रमलाई सम्वोधन गर्दै ओलीले विश्वमै भूकम्पपछिको पुनर्निर्माणमा छिटो सफलता पाउने देशमा नेपाल परेको दाबी समेत गरे । ओलीले एमाले सरकारले भूकम्पपछि सफल पुनर्निमाण गरेको बताएका हुन् ।
ओलीले आफ्नो पार्टी एमाले बाहेक अर्को राष्ट्रिय शक्ति हुनै नसक्ने दावी गर्दै आगामी चुनावमा आफ्नो पार्टीको एकल बहुमत नआएको खण्डमा देशमा दुर्भाग्य हुने चेतावनी दिएका छन् ।
ओलीले राष्ट्रले हार्ने कि जित्ने भन्ने महासंग्राम भएको भन्दै प्रतिगामीहरूलाई चुनावबाट पराजित गर्न आम नेपालीलाई आह्वान समेत गरे । आजदेखि ओली काठमाडौंको भीमसेनगोलस्थित आनन्द इभेन्ट्समा चुनावी अभियानमा सरिक भएका हुन् ।
यस्तै अर्को प्रसंग कोट्याउदै ओलीले रेलको विरोध गर्नेहरुलले आफ्नो चुनावी घोषणापत्रमा रेल देखाउन बाध्य भएको टिप्पणी गरेका छन् । काठमाडौंको क्षेत्र नम्बर १ मा आयोजित कार्यक्रममा बोल्दै एमालेको सरकारले रेलको कुरा गर्दा मजाक गर्नेहरूले आफ्नो चुनावी घोषणापत्रमा रेल देखाएको बताएका हुन् ।
जनकपुरमा एमाले सरकारले ल्याएको रेल चढ्न अहिले कांग्रेस–माओवादीका घरपरिवार आतुर बनेको ओलीले बताए । उनले प्रधानमन्त्री शेरबहादुर देउवाको घरैछेउ ट्रान्समिसन लाइन राखेर आफ्नो पार्टीको सरकारले बिजुली झलमल पारिदिएको बताए ।
आज बिहान ओली चुनावी अभियानमा होमिनुअघि महादेव मन्दिरको दर्शन गरेका थिए । नेता–कार्यकर्ता र सहयोगीसहित ओलीले त्रिपुरेश्वरस्थित महादेव मन्दिरको दर्शन गरेका हुन् ।