\
मुख्य समाचारराजनीति

स्पष्टीकरण सोधेकै भरमा दलहरूले कोलाहाल मच्चाएर चिच्याउन आवश्यक छैन : आयुक्त भण्डारी

कास्की । निर्वाचन आयोगका आयुक्त रामप्रसाद भण्डारीले स्पष्टीकरण सोधेकै भरमा दलका नेताहरूले कोलाहाल मच्चाएर चिच्याउन आवश्यक नभएको बताएका छन् । आयुक्त भण्डारीले आसन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन आचारसंहिता विपरीतका कार्य रोक्न आयोग प्रतिबद्ध रहेको बताएका हुन् ।
गण्डकी प्रदेशस्तरीय मिडिया अभिमूखीकरणको आज पोखरामा उद्घाटन गर्दै आयुक्त भण्डारीले निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष, भयरहित र मितव्ययीरूपमा सम्पन्न गर्न मिडियाको सहयोग रहँदै आएकोले आशन्न निर्वाचनमा पनि यो सहयोग रहने विश्वास व्यक्त गरे ।

आचारसंहिता परिपालना गर्ने सम्बन्धमा आयोगमा परेका उजुरी र प्राप्त सूचनालाई आधार मानी प्रमाणको आधारमा दलका नेता एवं उम्मेदवारलाई स्पष्टीकरण माग्दा त्यस्ता व्यक्तिहरूले आकाश खस्यो, पृथ्वी फुट्यो भनेजसरी कोलाहाल गर्नु कानूनको दृष्टिमा नमिल्ने कुरा भएको समेत आयुक्त भण्डारीले स्पष्ट गरे ।

उनले निर्वाचनमा भाग लिएका सबै राजनीतिक दलले गरेको प्रतिबद्धताअनुसार आचारसंहितालाई कडाइका साथ कार्यान्वयन गरिने स्पष्ट पारे । उनले भने, “दलहरुसँगको छलफल र परामर्शबाट नै निर्वाचन आचारसंहिता बनाइएको हो । सबै दलले यसको पालना गर्ने प्रतिबद्धतासमेत व्यक्त गर्नुभएकाले आचारसंहिता प्रभावकारी कार्यान्वयनमा आयोग प्रतिबद्ध छ ।”

आयुक्त भण्डारीले निर्वाचनलाई स्वच्छ, निष्पक्ष बनाउन आयोग लागिपरेको बताउँदै सात महिनाको अन्तरालमा स्थानीय निर्वाचन सम्पन्न गरी प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचन गर्न लागिएको बताए । उनले आसन्न निर्वाचनका लागि आवश्यक निर्वाचन सामग्री व्यवस्थापनको काम अन्तिम चरणमा पुगेको जानकारी दिए ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय गण्डकीका सचिव मनमाया भट्टराई पँगेनीले निर्वाचन सामूहिक रुपमा जस प्राप्ति गर्ने र अपनत्व लिने सामूहिक कार्य भएको बताए । उनले सबै सरोकारवालाले आ-आफ्नो तर्फबाट सहयोग गरेमा निर्वाचनलाई निष्पक्ष रुपमा सम्पन्न गर्न सकिने उल्लेख गरे ।

निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले सञ्चारमाध्यमहरूले आधिकारिक सूचना र समाचार सम्प्रेषण गरी निर्वाचनलाई सफल पार्ने र निर्वाचन आचारसंहिता उल्ङ्घनमा पहरेदार (वाच डग)को भूमिका निर्वाह गर्नुपर्ने बताए । उनले सञ्चार प्रतिष्ठान, पत्रकार र कर्मचारीले कसैको पक्ष वा विपक्षमा समाचार प्रकाशन वा प्रसारण गर्न नहुनेमा जोड दिए । प्रवक्ता शर्माले समानुपातिक निर्वाचनतर्फको मतपत्र दुर्गमका नौ जिल्लामा बाहेक अन्य सबै जिल्लामा ढुवानी गरिसकिएको जानकारी दिए ।

कास्कीका प्रमुख जिल्ला अधिकारी टेकबहादुर केसीले निर्वाचनलाई स्वतन्त्र र भयरहित बनाउन तीनवटै सरक्षा निकायसँगै जिल्लामा एक हजार ६ सय म्यादी प्रहरीलाई तालिम प्रदान गर्ने काम भइरहेको बताए । उनले निर्वाचनमा प्रतिकूल प्रभाव पार्ने समाचार सम्प्रेषण नगर्न ध्यानाकर्षण गराए ।

कार्यक्रममा प्रदेश निर्वाचन अधिकारी हुमप्रसाद पराजुली, पत्रकार महासङ्घ कास्की शाखाका अध्यक्ष विमला भण्डारी, प्रदेश निर्वाचन कार्यालयका सूचना अधिकारी रुद्रप्रसाद न्यौपानेलगायतले निर्वाचनलाई सफल बनाउन आमसञ्चारमाध्यमको ठूलो भूमिका रहने उल्लेख गरे ।

Leave a Reply