\
राजनीतिहेडलाइन

केही नेपाल ऐन संशोधन गर्ने विधेयक, २०७९ संशोधनसहित पारित

काठमाडौँ । प्रतिनिधि सभाको आजको दोस्रो बैठकले ‘केही नेपाल ऐन संशोधन गर्ने विधेयक, २०७९’ लाई संशोधन सहित पारित गरेको छ । बैठकमा कानून, न्याय तथा संसदीय मामिलामन्त्री गोबिन्दप्रसाद शर्मा(कोइराला)ले ‘केही नेपाल ऐन संशोधन गर्ने विधेयक, २०७९ लाई पारित गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गरेका थिए । विधेयकलाई बैठकको बहुमतले पारित गरेको हो । विधेयकमा प्रतिनिधि सभा र प्रदेश सभाका सांसदहरुको कार्यकाल नव निर्वाचित सदनको पहिलो बैठकसम्म रहने प्रस्ताव गरिएको थियो ।

विधेयकमा प्रस्ताव गरिएको कार्यकाल सम्बन्धी बुँदाहरुलाई हटाएर संशोधन सहित पारित गरिएकाले अब प्रतिनिधि सभा र प्रदेश सभाको कार्यकाल उम्मेदवारी मनोनयनको अघिल्लो दिन अर्थात् आउँदो असोज १ गतेसम्म मात्र रहने भएको छ । आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्यहरुको लागि हुने निर्वाचनका लागि आउँदो असोज २ गते समानुपातिक तर्फका उम्मेदवारहरुको मनोनय दर्ताका लागि निर्वाचन आयोगले दिन तोकेको छ ।

उक्त विधेयक माथि ११ वटा संशोधनहरु परेको थियो । सांसदहरु शेरबहादुर तमाङ, बिशाल भट्टराई, गोकूलप्रसाद बास्कोटा, प्रकाश रसाइँली स्नेही, कल्याणीकुमारी खड्का, प्रेम सुवाल, सुजिता शाक्य, अतहर कमाल मुसलमान, गगनकुमार थापा, रामकुमारी चौधरी र बिन्दा पाण्डेले संशोधन दर्ता गराएका थिए ।

उक्त विधेयकलाई पारित गर्नुपूर्व बैठकमा संशोधनकर्ता सांसद लगायतले छलफल भाग लिंदै आ-आफ्नो धारणा राखेका थिए भने छलफलमा उठेका प्रश्नहरुको कानूनमन्त्री कोइरालाले जवाफ समेत दिएका थिए ।

जवाफको क्रममा कानूनमन्त्री कोइरालाले संविधानले संसदको कार्यकाल ५ बर्ष भनिसक्दा समेत कानूनको अभावमा संसदको शुरुवात् र अन्त्यबारे समस्या देखिएकाले सरकारले यो विधेयक ल्याएको स्पष्ट पारेका थिए ।

कानूनमन्त्रीले आफ्नै लागि यो बिधेयक ल्याएको जस्तो गरेर सांसदहरुले राजनीति गर्न खोजेको आरोप लगाउँदै उनले सरकारले पवित्र उद्देश्यका साथ नै विधेयक ल्याएको दाबी गरे ।

कानूनमन्त्री कोइरालाले प्रमुख प्रतिपक्षी, गठबन्धन दल र स्वयं प्रधानमन्त्रीले समेत प्रतिनिधि सभा र प्रदेश सभाको कार्यकालको बिषयमा गम्भिर ध्यानाकर्षण गराएकाले पनि सरकारले विधेयकमाथि परेको केही संशोधनहरुलाई स्वीकार गरेर अगाडि बढ्न लागेको जवाफ दिएका थिए ।

विधेयकलाई पारित गर्नु अघि सांसदहरु बिशाल भट्टराई, पार्वती कुमारी विशुन्के, प्रेम सुवाल, नवराज शिलवाल, गगनकुमार थापाले राखेको संशोधनको प्रस्तावलाई बैठकको बहुमतले अस्वीकृत गरेको थियो भने बाँकी संशोधनकर्ताहरुले आफ्नो संशोधनलाई कानूनमन्त्रीको जवाफ पछि फिर्ता लिएका थिए । प्रतिनिधि सभाको अर्को बैठक भोलि भाद्र २२ गते दिउँसो १ बजेका लागि डाकिएको छ ।

प्रतिनिधि सभाको पहिलो बैठक गणपूरक नपुगे पछि १५ मिनेटको लागि स्थगित गरिएको थियो । ‘केही नेपाल ऐन संशोधन गर्ने विधेयक, २०७९’ माथि परेको संशोधनहरुलाई सभामुखले निणर्यार्थ प्रस्तुत गर्न लाग्दा नेमकिपाका सांसद प्रेम सुवालले गणपूरक संख्या नपुगेको भन्दै नियमापत्ति गरेका थिए ।

नियमापत्तिपछि सभामुख सापकोटाले ३ मिनेट घण्टी बजाई सचिवालयका कर्मचारीलाई सांसदहरुको संख्या एकीन गर्न निर्देशन दिएका थिए भने सांसदहरुको संख्या एकीन गर्दा कम्तिमा पनि ६९ जना हुनुपर्नेमा जम्मा ५८ जना सांसदहरु मात्र देखिएपछि बैठक १५ मिनेटका लागि स्थगित भएको थियो ।

Leave a Reply