अग्निपथ योजनामा नेपाली युवा भर्ती नगर्न भारतसँग परराष्ट्रमन्त्रीको आग्रह
काठमाडौं । नेपाल सरकारले भारतीय सेनाको ‘अग्निपथ’ योजनामा नेपाली युवा भर्ती नगर्न भारतलाई आग्रह गरेको छ । परराष्ट्रमन्त्री डा. नारायण खड्काले नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवलाई हिजो बुधबार मन्त्रालयमा बोलाएर नेपाली युवा भर्ती गर्ने योजना स्थगित गर्न भनेका हुन् ।
भारतमै विवादित बनेको अग्निपथ योजनाबारे नेपालका सबै दलको एकीकृत धारणा बनाउन बाँकी रहेको भन्दै मन्त्री खड्काले त्यतिन्जेल भर्ती रोक्न आग्रह गरेका हुन् ।
सबै दलको एकीकृत धारणा बनाउनु पर्नेभन्दै मन्त्री खड्काले तत्कालका लागि उक्त योजनामा नोपली युवालाई सहभागी नगराउन आग्रह गरेका हुन् । अग्निपथ योजना भारतमै विवादित बनेकोले मन्त्री खड्काले भारतीय राजदूतलाई यस्तो भनेका हुन् ।
अग्निपथ योजना अन्तर्गत नेपाली युवालाई भर्ती गर्न भारतीय सेनाले बिहीबार रुपन्देहीको बुटवलमा र भदौ १६ गते धरानमा प्रारम्भिक छनौट प्रक्रिया सुरु गर्ने योजना सार्वजनिक भएको थियो ।
‘अग्निपथ योजना ’ यस योजना अन्तर्गत १७ देखि २३ वर्ष उमेर समूहका युवालाई चार वर्षका लागि भर्ना गरिने बताइएको छ । चार वर्ष सेवा गरेपछि फेरि बेरोजगार हुने र यसबाट भविष्य बिग्रिने भन्दै यो योजनाको भारतमै विरोध हुँदै आएको छ ।
सेनामा भर्ती भएकाहरुलाई पहिलो वर्ष ४ लाख ७६ हजार भारु दिइने छ तथा यो रकम चौथो वर्षसम्म बढेर ६ लाख ९२ हजार रुपैयाँसम्म पुग्ने छ । सेवा अवधि पूरा गरेर घर फर्किनेहरुलाई कर बाहेक ११ लाख ७ हजार भारु उपदान पनि दिइने छ ।