संसद बैठक सुरु, नागरिकता विधेयक आजै पारित गर्ने
काठमाडौं । प्रतिनिधिसभाको बैठक सुरु भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले पुनर्विचारका लागि संसद्मा नै फिर्ता गरेको नागरिकता विधेयक आज नै पारित गरिने भएको छ ।
संघीय संसद् सचिवालयले सार्वजनिक गरेको आजको दैनिक कार्यसूचीमा नागरिकता विधेयक संसदबाट पारित गर्ने रहेको छ ।
राष्ट्रपति भण्डारीबाट पुनर्विचारका लागि प्रतिनिधि सभामा फिर्ता पठाइएको विधेयक फास्ट ट्र्याकमा पारित हुने भएको हो । राष्ट्रपतिबाट विधेयक फिर्तासम्बन्धी जानकारी प्रतिनिधि सभामा मंगलबार पेस भइसकेको छ ।
यसअघि सत्ता गठबन्धनले समेत फिर्ता पठाइएको विधेयकको प्रक्रिया तत्काल अघि बढाउने निर्णय गरिसकेको थियो । दलहरूसँगको परामर्शका आधारमा संसद् सचिवालयले आज बैठकमा विधेयक पारित गर्ने भएको हो ।
आज गृहमन्त्री बालकृष्ण खाँडले नागरिकता विधेयकमाथि सदनमै पुनर्विचार गरियोस् भन्ने प्रस्ताव राखेपछि सांसदहरुले आफ्नो धारणा राख्नेछन् । गृहमन्त्रीले जवाफ दिएपछि विधेयक निर्णयार्थ प्रस्तुत हुनेछ । मन्त्रीले जवाफ दिँदा सांसदहरुले उठाएका विषय स्वीकार गर्ने वा नगर्ने भनी राख्नेछन ।
स्वीकार गरेको खण्डमा विधेयकमा थपघट हुनेछ । सभामुखले निर्णयार्थ पेश गरेपछि विधेयक बहुमत र अल्पमतका आधारमा पास भएर अगाडि बढ्न सक्छ । संघीय संसद सचिवालयका अनुसार बिहीबार नै नागरिकता विधेयक पास भएर राष्ट्रिय सभामा पठाउने तयारी छ ।
यस्तो छ हेर्नुहोस् प्रतिनिधिसभाको आजको दैनिक कार्यसूची