एसपीपीका बारेमा पत्रचारका लागि सभामुखसँग रुलिङको माग, सांसद रावलले रोष्ट्रम नै छोडेनन्
काठमाडौं । प्रतिनिधि सभाको आजको बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा(एमाले) सांसद भिमबहादुर रावलले अमेरिकी स्टेट पार्टनरशीप प्रोग्राममा नेपाल सहभागि नहुने भनी नेपाल सरकार मन्त्रीपरिषद्को बैठकले नै निर्णय गरिसकेको तथा सदनमा समेत गृहमन्त्री र परराष्ट्रमन्त्रीले प्रतिबद्धता समेत जनाइसकेको हुँदा पनि अझैसम्म पत्राचार नगरिएको भन्दै तत्काल पत्राचारका लागि सभामुख मार्फत सरकारलाई रुलिङ गर्न माग गरेका थिए ।
ग्लोबल ग्रिन ग्रोथ इन्स्टीच्युटको सहभागितामुलक सदस्यको सदस्यता प्राप्त गर्ने स्वीकृति गर्ने सम्बन्धी सम्झौता माथिको छलफलमा भाग लिंदै सांसद रावलले आज पनि एउटा सम्झौता माथि नै छलफल भइरहेको र आफूले सरकारलाई सहयोगका निम्ति नै तत्काल पत्राचारको लागि रुलिङको माग गरेको पटक–पटक दोहो¥याएका थिए ।
सभामुखको आशनमा रहेकी नेकपा(माओवादी केन्द्र)की सांसद सत्या पहाडीले आफ्नो यस विषयमा ध्यानाकर्षण भएको तथा पछि मन्त्रीको जवाफमा समेत सो कुरा आउने बताउँद आशन ग्रहणको लागि पटक–पटक आग्रह गरेकी थिइन् ।
पछि सभामुख अग्निप्रसाद सापकोटा नै बैठकमा उपस्थित भई सांसद रावललाई यो विषयान्तर भएकाले रुलिङ गर्न नमिल्ने बताउँदै पटक–पटक आशन ग्रहण गर्न आग्रह गरेका थिए भने सांसद रावलले भने रोष्ट्रम नछोडी आफ्नो अडान कायमै राखेका थिए ।
अमेरिकी सरकारलाई पत्राचारका निम्ति सरकारलाई रुलिङ गर्नुपर्ने माग राख्दै सांसद रावलले रोष्ट्रम नै नछोडे पछि सभामुख सापकोटाले बैठक १५ मिनेटका लागि स्थगित गरेका थिए ।