विप्लवको दावी : संसद्वादी दलहरु देश हाक्न असफल भए
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी नेकपाका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ ले संसद्वादी दलहरु देश हाक्न असफल भएको दावी गरेका छन् । आज सोमबार काठमाडौमा पार्टी निकटको पत्रिका विमोचन कार्यक्रममा बोल्दै महासचिव विप्लवले संसद्वादी दलहरु देश हाक्न असफल भएको दावी गरेका हुन् ।
महासचिव विप्लवले वर्तमान व्यवस्थाबाट जनताहरु सन्तुष्ट नभएको बताएका छन् । विप्लवले सरकार जनताका मागप्रति संवेदनशिल नभएको आअरोप समेत लगाए । विप्लवले नेपालको राजनीतिमा जंगबहादुर राणाको पालाको भन्दा पनि भद्दा भएको टिप्पणी गरेका छन् ।
उनले देश टाँट पल्टिदै गएको, महंगी बढिरहेकोले संसदवादी पार्टी देशको नेतृत्व गर्न असफल बनेको बताएका हुन् । उनले मन्त्री बन्ने रोलक्रम सुरु भएर मन्त्रीहरु फेरिएर मन्त्री बनेर देशको सम्पत्ति लुट्ने काम भएको आरोप पनि लगाए ।
उनले अहिले दलहरुबीच आलोपालो मन्त्री हुने, कुम्ल्याउने, लुट्ने, देशको सम्पत्ति उडाउने र जनतालाई दुःख दिनेबाहेक अरु केही नभएको दावी समेत गरे । उनले यस्तो भद्दा मजाक कहिल्यै नदेखिएको भन्दै जनतालाई वाक्क दिक्क लागिसकेको बताए ।
उनले जनताको आवाज नसुनेर देशको ढुकुटी डुवाउने, देशको अर्थतन्त्र तहस-नहस बनाउने काम भएको र फटाहहरुको रोलक्रम सुरु भएको बताए । उनले नेपालको स्वाधिनता, सार्वभौमिकता सार्वधिक खतरामा रहेको भनेर आम नेपालीलाई सचेत समेत गराए ।
उनले जनताको घरमा चामल नभएको, महंगीले थिचेको, दिनदहाडै बलात्कार बढेको, सत्तामा बसेका मान्छेहरु भने लुटिरहेले यो लुटेराहरुको व्यवस्था भएको आक्षेप पनि लगाए । वर्तमान शासन व्यवस्थाबाट कोही पनि जनता सन्तुष्ट हुन नसकेको भन्दै वर्तमान शासन व्यवस्थालाई लुटेराहरूको व्यवस्थाको संज्ञा दिएका हुन् ।
उनले विदेशी अतिक्रमणकारीहरुले देशमाथि हस्तक्षेप गरिरहेको भन्दै देशका प्राकृतिक श्रोत, जल, जडिबुटी र जमिनमाथि आँखा गाडिरहेको बताए । उनले अमेरिकाले एमसीसी नेपालको सहयोगको भावनाले नभइ नेपालका जनताको दुःखमा फाइदा उठाउने, लुट्ने साम्राज्यवादी नीति भएको बताए । उनले अर्बौ रकम विदेशतिर लाने क्रम चलिरहेको भन्दै यो बेलामा देशको रक्षा गर्ने सञ्चारमाध्यम चहिएको बताए ।
वासिङटन, लण्डन र वर्लिनबाट तयार गरिएका योजनाहरुलाई लागू गर्ने दलालहरूको व्यवस्था भएको भन्दै मुठिभर मान्छेले मोजमस्ती उडाउने व्यवस्था भएको दावी गरे । उनले राष्ट्रिय स्वाधिनता खतरामा भएको, एसपीपी र एमसीसी जस्ता राष्ट्रघाती सम्झौता भएकोले देशको स्वाधिनता बच्छ कि बच्दैन, बहस चिन्तनको विषय बनेको बताए ।