गृहमन्त्री खाण र माओवादी अध्यक्ष प्रचण्डबीच भेटवार्ता
काठमाडौं । गृहमन्त्री बालकृष्ण खाण र पूर्वप्रधानमन्त्री समेत रहेका नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच भेटवार्ता भएको छ ।
आज सोमबार बिहान प्रचण्ड निवास खुमलटार पुगेर गृहमन्त्री खाणले दाहाललाई भेट गरेका हुन् ।
सरकारले संघीय संसद्मा पेस गरेको ‘नेपाली नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयक’ बारे गृहमन्त्री खाणले प्रचण्डसंग छलफल गरेका हुन् ।
भेटमा सरकारले संसद्मा पेस गरेको नागरिकता विधेयकबारे प्रचण्डसंग भएको छलफल सकारात्मक भएको गृहमन्त्री खाणले जानकारी दिए ।
सरकारले नेपाली नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयक २०७५ साल साउन २२ गते प्रतिनिधि सभामा दर्ता गरेको थियो। राज्य व्यवस्था समितिले २०७७ असार ९ गते प्रतिवेदनसहित प्रतिनिधि सभामा पेस गरेको थियो ।
सरकारले त्यो प्रतिवेदन असार २४ गते फिर्ता लिएर त्यसैदिन अर्को विधेयक संसद् सचिवालयमा पेस गरेको छ।
हिजो आइतबार साँझ मात्रै गृहमन्त्री खाणले प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङसँग पनि भेटघाट गरेर उक्त विधेयकका बारेमा छलफल गरेका थिए ।