प्रतिनिधिसभाको बैठक सुरु, बजेटमाथि सैद्धान्तिक छलफल प्रारम्भ
काठमाडौं । प्रतिनिधिसभाको बैठक सुरु भएको छ । नयाँवानेश्वरस्थित संघीय संसदको भवनमा प्रतिनिधिसभामा आजबाट बजेटमाथि सैद्धान्तिक छलफल सुरु भएको हो ।
आज सुरु भएको बैठकमा अर्थमन्त्री जनार्दन शर्माले आर्थिक वर्ष २०७९/०८० को राजश्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल प्रारम्भ गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।
यस्तै आर्थिक वर्ष २०७९/०८० को राजश्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल प्रारम्भ गरियोस् भन्ने प्रस्ताव प्रस्तुत भएपछि उक्त प्रस्तावपछि सांसदहरूले बजेटमाथि आफ्नो धारणा राख्नेछन् ।
अर्थमन्त्री जनार्दन शर्माले जेठ १५ गते संघीय संसदमा १७ खर्ब ९३ अर्ब ८३ करोड रुपैयाँको बजेट प्रस्तुत गरेका थिए । उक्त बजेटमा छलफल गर्न र सो क्रममा उठेका प्रश्नको मन्त्रीले जवाफ दिनका लागि सभामुख अग्नि सापकोटाले जेठ १७, १८ र १९ गतेको दिन तोकेका छन् ।
यता प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले शेरबहादुर देउवा नेतृत्वको वर्तमान सरकारले ल्याएको बजेटको भण्डाफोर गर्न रणनीति तय गरेको छ । आर्थिक वर्ष २०७९/८० का लागि गठबन्धन सरकारले ल्याएको बजेटबारे गहनतम छलफल गर्न एमालेको नयाँवानेश्वरस्थित ल्होत्से हलमा हिजो बसेको संसदीय दलको बैठकले आजदेखि संसदमा खरो भएर उत्रिने रणनीति तय गरेको थियो ।
संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराईले बैठकपछि पत्रकारहरुसंग कुरा गर्दै सरकारले संसदमा प्रस्तुत गरेको विषयमा आजदेखि सामान्य छलफल सुरु हुने भएकोले बजेटको बारेमा आफ्ना संसदलाई खरो भएर तर्कसंगत रुपमा प्रस्तुत हुन एमाले अध्यक्ष केपी शर्मा ओलीले निर्देशन दिएको उनले बताएका थिए ।
एमालेले राष्ट्रिय योजना आयोगका ३ जना पूर्वउपाध्यक्षहरु डा. युवराज खतिवडा, प्रा. डा. पुष्पराज कँडेल, डा. दिनेशचन्द्र देवकोटालाई विज्ञको रुपमा बोलाएर देउवा सरकारले ल्याएको बजेट बारेमा छलफल गरेर संसदमा पार्टीको के धारणा राख्ने भन्ने सम्वन्धमा आफ्ना संसदलाई जानकारी दिएको थियो ।
यसैगरी एमालेले अन्य दुई पूर्वअर्थमन्त्रीहरु विष्णु पौडेल र सुरेन्द्र पाण्डेलाई पनि विज्ञको रुपमा आमन्त्रण गरेर संसदहरुलाई प्रशिक्षण गर्दै वर्तमान चुनावी सरकारले चुनावलाई प्रभावित पार्ने वितरणमुखी बजेट ल्याएको निष्कर्ष निकाल्दै आगामी ५ महिनासम्म मात्र आयू भएको सरकारले ल्याएको बजेटको जिम्मेवारी कसले लिने र कसरी कार्यान्वयन गर्ने भन्ने बारेमा आफ्ना संसदलाई जानकारी पनि दिएको हो ।
अर्थमन्त्री जनार्दन शर्माले हिजो आइतबार आगामी आर्थिक वर्ष २०७९/८० को बजेट आइतवार संघीय संसदको संयुक्त बैठकमा पेश गरेका थिए । सो बजेटमाथि पार्टीको धारणा बनाउन बैठक डाकिएको थियो । आइतवार बजेट आएपछि एमाले उपाध्यक्ष विष्णु पौडेल र सांसद खगराज अधिकारीसहितले मतदाता फकाउन गठबन्धन सरकारले कनिका छरेको आरोप लगाएका थिए ।
यस्तो छ हेर्नुहोस् संसदको दैनिक कार्यसूची