निलम्बित गभर्नर अधिकारीको रिट न्यायाधीश फुयाँलको इजलासमा
काठमाडौं । नेपाल राष्ट्र बैंकका निलम्बित गभर्नर महाप्रसाद अधिकारीले दायर गरेको रिट न्यायाधीश हरिप्रसाद फुयाँलको इजलासमा परेको छ । गभर्नर अधिकारीले सर्वोच्च अदालतमा दायर गरेको रिटको आज प्रारम्भिक सुनुवाइ हुने भएको हो ।
आफ्नो निलम्बन फुकुवाको माग पेश गर्दै पूर्ववत् अवस्थामै कामकाज गर्न दिन अन्तरिम आदेशको माग गर्दै गभर्नर अधिकारीले दिएको रिट न्यायाधीश फुयाँलको एकल इजलासमा परेको हो । गभर्नर अधिकारीले सरकारविरुद्ध आइतवार रिट लिएर सर्वोच्च पुगेकोमा हिजो सोमबार मात्र दर्ता भएको उक्त रिटको प्रारम्भिक सुनुवाइ आजवाट हुन लागेको हो ।
हिजो सर्वोच्च अदालतमा दर्ता भएको गभर्नर अधिकारीको रिटको पेसी आजका लागि तोकिएको हो । आफूमाथिको छानबिन समिति गठन गैरकानुनी भएको भन्दै अन्तरिम आदेशमार्फत सरकारको निर्णय खारेजीका लागि अधिकारी सर्वोच्च पुगेका थिए ।
सरकारले विभिन्न अभियोग लगाउँदै पूर्वन्यायाधीश पुरुषोत्तम भण्डारीको नेतृत्वमा जाँचबुझ समिति बनाएपछि अधिकारी गभर्नर पदबाट निलम्बनमा थिए । गत चैत २५ गते सरकारले अधिकारीमाथि छानबिन समिति गठन गरेको थियो ।
नेकपा एमालेका अध्यक्ष समेत रहेका तत्कालिन केपी शर्मा ओली नेतृत्वको सरकारले नियुक्त गरेका गभर्नर अधिकारीलाई नेपाली काँग्रेसका सभापति समेत रहेका प्रधानमन्त्री शेर बहादुर देउवा नेतृत्वको सरकारले निलम्बन गरेको थियो ।
विलासी बस्तु आयात रोक्न अर्थ मन्त्रालयले दिएको निर्देशनसम्बन्धी सूचना चुहावट जस्ता गम्भीर आरोप लागेकाले गभर्नरबारे मन्त्रिपरिषद् बैठकमै गभर्नर अधिकारीबारे प्रश्न उठेकोले सरकारले उनलाई निलम्बन गरेको थियो ।