\
मुख्य समाचारराजनीति

गठबन्धनमा महानगरबारे भागवण्डाको गाँठो अड्कियो पोखरामा

काठमाडौं । आसन्न स्थानीय तहको निर्वाचनमा पाँच दलीय सत्ता गठबन्धनमा महानगरपालिकामा गर्ने भनिएको भागबण्डाको गाँठो पोखरा महानगरपालिमा अड्किएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आज बेलुकी बसेको सत्ता गठबन्धनको बैठकमा ६ मध्ये ५ महानगरको भागबण्डामा लगभग सहमति भएतापनि पोखरामा हुन नसकेको हो ।

बैठकमा सहभागी एक नेताका अनुसार देशभरका ६ महानगरमा कांग्रेसलाई ३ वटा, माओवादी, एकीकृत समाजवादी र जसपालाई १-१ सिट दिने सहमति भएको हो । ती नेताका अनुसार काठमाडौं, ललितपुर र विराटनगरमा कांग्रेस, भरतपुरमा माओवादी केन्द्र, वीरगञ्जमा जनता समाजवादी पार्टी तथा पोखरामा नेपाली काँग्रेस र एकीकृत समाजवादी पार्टी दुवैले दावी कायम राखेकोले पोखरा बाहेक अन्य ५ वटा महानगरमा सहमति जुटेको हो ।

मूख्यत: नेपाली कांग्रेसले पोखरा महानगरपालिकाको मेयर पदमा दाबी नछोडेपछि महानगरको सिट बाँडफाँट गर्न बसेको सत्ता गठबन्धनको बैठक बिनानिष्कर्ष टुंगिएको हो । पोखरामा कांग्रेसले समाजवादीको नेतृत्व स्वीकार गर्न नसकेको र समाजवादीले पनि अडान नछाडेकोले ६ वटै महानगरको टुंगो लगाउन भनेर आज एकैदिन बिहान र बेलुकी बसेको गठबन्धनको बैठक भागबण्डा टुंग्याउन असमर्थ भएको हो ।

कांग्रेसका नेता कार्यकर्ता पनि पोखरा महानगरमा एकीकृत समाजवादी निकै कमजोर अवस्थामा रहेकोले नेतृत्व स्वीकार गर्न नसकिने पक्षमा देखिएका छन् । सत्ता गठबन्धनको बैठकमा कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले पनि पोखरा कांग्रेसले नै लिनुपर्ने अडान लिएका थिए । सोमबार साँझ बालुवाटारमा बसेको बैठकमा प्रस्तावित सिट बाँडफाँटको मस्यौदामाथि गहनतम छलफल भएपनि महानगरको सहमतिको हलो पोखरामा अड्किएर सहमति हुन नसकेको हो ।

पोखराको बिषयलाई लिएर एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल समेत धर्मसंकटमा परेका छन् । समाजवादीका कास्की अध्यक्षले पोखराको मेयर नपाए एमालेमा प्रवेश गर्ने धम्की नै दिएपछि नेपाल धर्मसंकटमा परेका हुन् । पोखरा महानगरमा सहमति नजुटेपछि सत्ता गठबन्धनको बैठक भोलि साढे ११ बजे बैठक बसेर टुंगो लगाइने भएको छ ।

यो पनि पढ्नुहोस्

सत्ता गठबन्धनमा ६ मध्ये ५ महानगरको भागबण्डामा सहमति

Leave a Reply