\
राजनीति

म्याग्दीमा उम्मेदवार छनोट गर्न गठबन्धनमा सकस

काठमाडौं । सत्ता साझेदार पाँच दलीय गठबन्धनमा सकस भएपछि दलहरुले जिल्लामा एकल उम्मेदवार छनोट, सिफारिस र घोषणा गर्न थालेका छन् । गत चैत २४ गते नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी र राष्ट्रिय जनमोर्चाको पाँच दलीय संयन्त्रले आसन्न स्थानीय तह चुनावमा साझा उम्मेदवार बनाउने सैद्धान्तिक सहमति गरेका थिए ।

सहमतिपछि दुई पटक बसेको बैठकमा वडा र पालिका बाँडफाँटमा विवाद उत्पन्न भएपछि ती दलहरुले एकल उम्मेदवारी घोषणा गरेका हुन् । काँग्रेसले दुई र माओवादी केन्द्रले एक स्थानीय तहमा एकल उम्मेदवारी घोषणा गरिसकेका छन् ।

बेनी नगरप्रमुखमा काँग्रेसले चिरञ्जीवी शर्मालाई मेयरको उम्मेदवार बनाउने निर्णय शुक्रबार गरेको थियो । माओवादी केन्द्रले आइतबार नै नगरप्रमुखमा शेरबहादुर केसी र धनलाल जैशी तथा उपमेयरमा ज्योति लामिछाने पौडेललाई उम्मेदवार बनाउन सिफारिस गरेको छ ।

माओवादीका बेनी नगर इञ्चार्ज विनोद केसीले गठबन्धनभित्र समय घर्किदासम्म पनि सहमति नभएपछि एकल उम्मेदवार छनोट गर्नुपर्ने अवस्था आएको बताए । “सहमतिको अन्तिम प्रयत्न अझै पनि छ”, उनले भने, “समय घर्किसकेकाले आफ्नै तयारी गर्नुपर्छ भनेर उम्मेदवार घोषणा गरिएको हो ।”

काँग्रेसले मालिका गाउँपालिकाको अध्यक्षको उम्मेदवारमा वर्तमान गाउँपालिका अध्यक्ष श्रीप्रसाद रोकालाई दोहो-याउने घोषणा गरेको छ । काँग्रेस म्याग्दीका सचिव हीराबहादुर पुनले कसले कति र कुन पालिका, वडाको नेतृत्वमा उम्मेदवार बनाउने भन्ने विषयमा छलफल अड्किएको बताए । काँग्रेसले अघिल्लो चुनावमा आफूले जितेका पालिका आफूसँगै राखेर एमालेले जितेको थप ५० प्रतिशत वडा र पालिका छोडेर बाँडफाँट गर्ने प्रस्ताव गरेका थिए ।

माओवादी केन्द्रले कम्तीमा दुई स्थानीय तह र १८ वडाध्यक्षमा दाबी गरेका थिए । नेकपा एकीकृत समाजवादी र जसपाले पनि एक÷एक पालिकाको नेतृत्व दाबी गरेका थिए ।

अन्नपूर्ण, रघुगङ्गा, मङ्गला र धौलागिरि गाउँपालिकामा सिफारिस भएका उम्मेदवार छनोट र सार्वजनिक गर्ने चरणमा काँग्रेस छ । माओवादी केन्द्रका नेताहरुले बेनीसँगै अन्य पालिकामा एकल उम्मेदवार सार्वजनिक गर्ने तयारी भएको जनाएको छ ।

Leave a Reply