\
राजनीति

ओली र खनालसँग एनआरएनए प्रतिनिधिमण्डलको भेट

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए)का नवनिर्वाचित प्रतिनिधिमण्डलले आज पूर्वप्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओली र नेकपा (एकीकृत समाजवादी)का वरिष्ठ नेता झलनाथ खनालसँग अलगअलग भेटघाट गरी हालै सम्पन्न दसौँ विश्व सम्मेलनमा उठेका विभिन्न सवालका बारेमा जानकारी गराएको छ ।

एनआरएनएका अध्यक्ष कुल आचार्यको नेतृत्वमा गएको प्रतिनिधिमण्डलले सम्मेलनमा उठेका सवालको उनीहरुसँग सहकार्य र समन्वय गरिदिन आग्रह गरेको छ ।

अध्यक्षद्वयलाई बुझाइएको पत्रमा संसद्मा विचाराधीन गैरआवासीय नेपाली नागरिकतासम्बन्धी विधेयक पारित गर्न आग्रह गर्नाका साथै १०० कोठाको अत्याधुनिक सुविधासम्पन्न वृद्धाश्रम निर्माणका लागि नेपाल सरकारसँग जग्गा उपलब्ध गराउन, गैरआवासीय नेपालीले नेपालमा गर्न लागेको १० अर्बको सामूहिक लगानी कोषको कानुनी बाधा–अड्चन फुकाउनका लागि सहजीकरण, वैदेशिक रोजगार सामाजिक सुरक्षा कार्यक्रम ल्याउन पहल गर्न र वैदेशिक रोजगारबाट प्राप्त विप्रेषण सटहीमा प्रतिअमेरिकन दुई डलर संघको वैदेशिक रोजगार कल्याणकारी कोषमा जम्मा हुने गरी पहल गर्न सहजीकरणका लागि अनुरोध गरिएको छ ।

Leave a Reply