नुवाकोटका विविध समस्याको समाधान गर्न प्रधानमन्त्रीको ध्यानाकर्षण
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवासमक्ष नेपाली काँग्रेसका प्रवक्ता डा प्रकाशशरण महतको नेतृत्वको नुवाकोट जिल्लाको प्रतिनिधिमण्डलले ज्ञापनपत्र प्रस्तुत गरेको छ । प्रतिनिधिमण्डलले नुवाकोट जिल्लाका विविध समस्याको समाधान गर्न प्रधानमन्त्रीको ध्यानाकर्षण गराएको हो ।
प्रधानमन्त्रीसँगको भेटमा प्रतिनिधिमण्डलका तर्फबाट डा महतले ककनी हुँदै नुवाकोट जाने बाटो ठेक्का लगाएको १० वर्षसम्म निर्माण पूरा नभई अलपत्र परेकाले जनजीवन कष्टकर भएको विषय राखेका थिए ।
उनले उक्त बाटोको निर्माण तत्काल पूरा गर्न प्रधानमन्त्रीले नै सम्बन्धित मन्त्रालय र विभागलाई निर्देशन गर्न आवश्यक भएको बताएका थिए ।
ज्ञापनपत्रमा नुवाकोटको बञ्चरे डाँडाको डम्पिङ साइटको व्यवस्थापन गर्दा स्थानीयवासीको सरोकारलाई ध्यान दिन पनि अनुरोध गरिएको छ ।
पूर्वमन्त्रीसमेत रहेका डा महत ककनीमा नेपाली काँग्रेसले आयोजना गरेको गाउँगाउँ जाऔँ, नेपाली काँग्रेस जिताऔँ अभियानअन्तर्गतको प्रशिक्षणमा सहभागी भएर फर्कंदा स्थानीयवासीले फोहरमैला व्यवस्थापनको समस्या प्रधानमन्त्रीसमक्ष पु¥याइदिन अनुरोध गरेका थिए ।