एमालको सचिवालय बैठक बालकोटमा आज बस्दै
काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)को केन्द्रीय सचिवालय बैठक आज बस्दै छ । बैठक आज मंगलबार दिउँसो ३ बजे पार्टी अध्यक्ष केपी शर्मा ओलीको निजी निवास बालकोटमा बस्न लागेको हो ।
आज बस्ने सचिवालय बैठकमा स्थानीय तहको निर्वाचनको तयारी लगायत विषयमा छलफल हुने बताइएको छ । उक्त बैठकले पार्टीको स्थायी कमिटी, पोलिटब्युरो र केन्द्रीय कमिटी बैठकको बोलाउने एमालेको तयारी रहेको छ ।
साथै सो बैठकले स्थानीय तह निर्वाचनको कार्ययोजना तय गर्न केन्द्रीय कमिटी बैठकका एजेण्डा तयारी गर्ने भएको हो । हिजो सोमबार बसेको केन्द्रीय कार्यालय बैठकले केन्द्रीय कमिटीको बैठक छिट्टै बोलाई स्थानीय तह निर्वाचन केन्द्रित कार्ययोजना बनाउने विषयमा छलफल गरेको थियो ।