\
राजनीतिहेडलाइन

एमसीसीवारे निर्णय गर्न गठबन्धनको बैठक बालुवाटारमा शुरु

काठमाडौं । प्रतिनिधिसभामा टेवुल भएको अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसिसी) सम्झौता अनुमोदन गर्न वर्तमान सत्ता गठबन्धनमा रहेका दलहरुको बैठक शुरु भएको छ ।

एमसीसी सम्झौता अनुमोदन गर्ने विषयमा छलफल गर्न सत्ता गठबन्धनको बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा केही समयअघि बैठक शुरु भएको हो ।

शुरु भएको बैठकमा काँग्रेसबाट प्रधानमन्त्री शेरबहादुर देउवासहित महामन्त्री गगन थापालगायत सहभागी छन् भने माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल, जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव सहभागी रहेका छन् ।

एमसीसी संसदवाट पारित गर्न सत्ता गठबन्धनका दलहरु सहमति नजिक पुगेको बताइएको छ । बालुवाटारमा शुरु भएको बैठकले एमसीसीबारे निर्णय गर्ने बताइएको छ ।

यद्यपि व्याख्यात्मक टिप्पणीसहित एमसीसी अनुमोदन गर्ने गठबन्धनको तयारीप्रति माओवादी केन्द्रका केहि नेताले असहमति जनाएका छन् । माओवादीका नेताहरु नारायणकाजी श्रेष्ठ, कृष्णबहादुर महरा, गिरिराजमणि पोखरेल, लीलामणि पोखरेल र देव गुरुङले असहमति जनाएका हुन् ।

नेकपा (माओवादी केन्द्र) एमसिसी सम्झौतामा व्याख्यात्मक टिप्पणीसहित संसदबाट अनुमोदन गर्ने निर्णय गरेको छ । आज बिहान प्रचण्ड निवास खुमलटारमा बसेको नेताहरुको बैठकले व्याख्यात्मक घोषणासहित एमसीसी अनुमोदन गर्ने निर्णय गरेको हो ।

सत्ता गठबन्धनमा एमसीसी बारेको विवादित बुँदामा ब्याख्यात्मक विश्लेषण भएको छ । सो बुँदा माओवादीले पनि अनुमोदन गरेसँगै अब गठबन्धनमा एमसीसी बारेको विवाद मिलेको स्रोतको दाबी छ ।

११ बुँदे परिमार्जनसहित एमसीसी पारित गर्नका लागि गठबन्धन सहमति नजिक पुगेका छन् । परिमार्जनको ड्राफ्ट समेत तयार भइसकेकोले सो विषयमा आधिकारिक निर्णय गर्न सत्ता गठबन्धनका नेताहरू छलफलमा जुटेका हुन् ।

प्रतिनिधिसभा बैठक आज आइतबार दिउसो १ बजे बस्ने भएको छ । प्रतिनिधिसभाको आइतबारको बैठकका लागि एमसीसी सम्भावित कार्यसूचीमा राखिएको छ । अर्थमन्त्री जनार्दन शर्माले सम्झौतामाथि सामान्य छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूचीमा उल्लेख गरिएको छ ।

Leave a Reply