एमाले अध्यक्ष ओलीलाई भेट्न प्रधानमन्त्री देउवा बालकोटमा
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न नेपाली कांग्रेसका सभापति समेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवा ओलीको निजी निवास बालकोट पुगेका छन् । पोखरा पुगेर काठमाडौँ फर्किएका एमाले अध्यक्ष ओलीलाई भेट्न प्रधानमन्त्री देउवा बलकोट पुगेका हुन् ।
छलफलमा काँग्रेसको तर्फवाट सभापति देउवाको साथै उपसभापति पूर्ण बहादुर खड्का, काँग्रेस महामन्त्री गगन थापा र सरकारका प्रवक्ता समेत रहेका संचारमन्त्री ज्ञानेन्द्र बहादुर कार्की सहभागी भएका छन् भने एमालेको तर्फवाट अध्यक्ष ओलीको साथै एमाले महासचीव शंकर पोखरेल र उपमहासचिव प्रदिप ज्ञवाली सहभागी भएका छन् ।
प्रधानमन्त्री देउवा यसअघि पनि एमाले अध्यक्ष ओलीलाई भेट्न बालकोट गएका थिए । काँग्रेस र एमालेका नेताहरुवीच एमसीसी संसदवाट अनुमोदन गर्नका लागि कांग्रेसले सबै विकल्पमाथि छलफल जारी राखेको बताइएको छ ।
प्रधानमन्त्री देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ देउवालाई भेटेर बालुवाटारमा फर्किएपछि आफ्नो पार्टी कांग्रेसका नेताहरू आन्तरिक छलफलमा गरिसकेर देउवा बालकोट गएका हुन् ।
सत्ता गठबन्धन र प्रमुख प्रतिपक्ष दुबैतर्फ समानान्तर वार्ता गरिरहेका देउवाले कतावाट सहकार्य गर्दा अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) पास गर्न आफूलाई सहज हुन्छ भनेर वैकल्पिक बाटोको अवलम्वन गर्ने रणनीति अपनाएका छन् । एमसीसी अनुमोदन गर्न सत्तारुढ गठबन्धनमा रहेका दलहरुले सहयोग नगरेपछि प्रधानमन्त्री शेरबहादुर देउवाले एमालेको साथ खोजेका छन् ।
प्रधानमन्त्री देउवाले हिजो बिहीबार दिउँसो र साँझ गरी दुई पटक एमाले नेताहरुसँग छलफल गरेका थिए । एमसिसी संसद्बाट अनुमोदन गर्ने सम्बन्धमा कांग्रेस र एमालेबीच हिजो साँझ भएको छलफल सकारात्मक भएको दावी गरिएको छ ।
संसद्मा दर्ता भएको लामो समयपछि यही फागुन ८ गते प्रतिनिधिसभामा टेबल भएको एमसिसी परियोजनालाई दलहरूबीच सहमति जुटाएर संसद्बाट अनुमोदन गराउन प्रधानमन्त्री देउवाले दलीय परामर्शलाई तीव्र पारेका छन् ।
धरापमा परेको सत्ता गठबन्धनलाई जोगाएर संसदमा टेवुल भएको एमसीसी सम्झौतालाई प्रतिनिधिसभा बैठकमा सांसदहरुलाई अनुपस्थित गराएर अनुमोदन गर्न दिने नयाँ समझदारी भएको भन्ने समाचारहरु पनि संचारमाध्यममा बाहिर आएका छन् ।
माओवादी केन्द्र र एकीकृत समाजवादी पार्टीले आफ्नो अडानवाट लचिलो हुँदै ‘सर्प पनि मर्ने लट्ठी पनि नभाँचिने’ भनेझैँ सत्ता गठबन्धन जोगाउने र एमसीसी सम्झौता अनुमोदन पनि हुन दिन तयार भएका छन् । एमसीसीका कारण संकटमा परेको सत्ता गठबन्धन जोगाउन अन्तिम कोसिसस्वरुप शीर्ष नेताहरुमा एमसीसी पारित पनि गर्ने र गठबन्धन पनि नटुटाउने समझदारी बनेको भन्ने समाचार बाहिर आएका हुन् ।
एमसीसीकै कारण सत्ता गठबन्धन टुट्ने अवस्था आएपछि दुवै दल विपक्षमा मत दिने अडानबाट पछि हटेका हुन् । अब दुवै दलले एमसीसी अनुमोदनका लागि निर्णयार्थ पेश गर्दा पास हुने वातावरण बनाउन संसद बहिष्कार गर्नेसम्मको तयारी गरेका छन् ।
यता कांग्रेस र एमाले सभामुख अग्निप्रसाद सापकोटालाई महाअभियोग लगाएर बर्खास्त गर्न सहमत नजिक पुगेको बताइएको छ । यद्यपि कांग्रेसले भने केही दिन सभामुख सापकोटाको भूमिका हेर्ने बालुवाटार स्रोतले बताएको छ ।
सभामुख सापकोटाले आफूले कारबाही गरेका १४ जना संसदलाई निष्काशन गरेको सूचना नटाँसेको भन्दै एमालेले संसदको बैठक अवरोध जारी राख्नुका साथै सभामुखले बोलाएको कार्यव्यवस्था परामर्श समितिको बैठक बहिस्कार गर्दै आएको छ ।
प्रधानमन्त्री देउवा सत्ता गठबन्धनमै एमसीसी अनुमोदन गर्नेमा सहमति नजिक पुगेको खवर बाहिरिएपछि एमाले केन्द्रीय कमिटी सदस्य विष्णु रिजालले सामाजिक संजाल ट्वीटरमा लेख्दै गठबन्धन रहेसम्म पाँच दलीय गठबन्धनको नेताका रूपमा शेरबहादुर देउवासँग नेकपा (एमाले) कुनै सहकार्य नहुने र गठबन्धन सरकारले सदनमा ल्याएका हरेक प्रस्तावका विरुद्धमा दृढतापूर्वक उभिने स्पष्ट पारेका छन् ।