गठबन्धनलाई कायम राख्ने माओवादीको निर्णय, प्रचण्डले देउवालाई भेट्न दूत पठाउने
काठमाडौँ । सत्तारुढ दल नेकपा (माओवादी केन्द्र) ले सत्ता गठबन्धनलाई कायम राख्न अन्तिमसम्म भगिरथ प्रयास गर्ने निर्णय गरेको छ । आज शुक्रबार अध्यक्ष प्रचण्ड निवास खुमलटारमा बसेको पूर्वस्थायी कमिटी सदस्यहरुको बैठकले गठबन्धनलाई निरन्तरता दिन अन्तिम प्रयास गर्ने निर्णय गरेको हो ।
बैठकले एमसीसीका सम्बन्धमा पार्टीले लिँदै आएको अडानलाई यथावत राख्ने निर्णय गरेको छ । खुमलटारमा भएको पार्टीको निर्णयबारे प्रधानमन्त्री शेरबहादुर देउवालाई जानकारी दिन अध्यक्ष प्रचण्डले एक नेतालाई आफ्नो दूतको रुपमा बालुवाटार पठाउने भएका छन् ।
माओवादी केन्द्रले नेपाली काँग्रेसका सभापति समेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकार छाड्ने तयारीस्वरुप आज बैठक बोलाएको थियो । माओवादी केन्द्रले देउवा सरकारमा रहेका आफ्ना मन्त्रीहरूलाई फिर्ता बोलाउने तयारी गरेतापनि वर्तमान सत्ता गठबन्धनलाई कायम राख्ने निर्णय गरेको हो ।
प्रधानमन्त्री देउवाले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) सम्झौता जसरी पनि संसदवाट अनुमोदन गर्ने गरी अघि बढेकाले माओवादी केन्द्र सरकारमा नरहने निष्कर्षमा पुगेर आन्तरिक छलफलमा जुटेको थियो ।
बैठक सत्ता गठबन्धनमा उत्पन्न परिस्थिति, एमसीसी र सरकारबाट बाहिरिने लगायतका विषयमा आज भएको बैठक केन्द्रित भएको माओवादीका एक नेताले बताए । माओवादी संसदीय दलको बैठकले एमसीसी जबरजस्ती अनुमोदन गर्न खोजे सरकारबाट बाहिरिने निर्णय गरिसकेको छ ।
माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र प्रधानमन्त्री देउवावीच बालुवाटार भेटवार्तामा प्रचण्डले देउवालाई यथास्थितिमा एमसीसी अनुमोदन गर्न नसकिने भएकोले संसदमा थाती राख्न अनुरोध गरेका थिए । हिजो बिहीबार बिहान माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको प्रधानमन्त्री देउवासँग भएको छलफलपछि अब सँगै अघि बढ्न नसकिने निष्कर्षमा माओवादी पुगेको बताइएको थियो ।