संसदको बैठक आज पनि स्थगित, अर्को बैठक आइतबार बस्ने
काठमाडौँ । प्रतिनिधिसभाको आज बस्ने भनिएको बैठक पुन: स्थगित भएको छ । सरकारको आग्रहमा आज बस्ने भनिएको प्रतिनिधिसभा बैठक स्थगित गरिएको हो ।
सभामुख अग्नि सापकोटाका प्रेस सल्लाहकार श्रीधर न्यौपानेका अनुसार कानुनमन्त्री दिलेन्द्रप्रसाद बडूले सभामुख सापकोटालाई भेटेर आज बस्ने भनिएको संसदको बैठक आइतवारसम्म स्थगित गर्न आग्रह गरेपछि बैठक सारिएको हो ।
हिजो बस्ने भनिएको प्रतिनिधिसभाको बैठक अन्तिममा आएर सूचना टाँस गरी आज दिउँसो १ बजेसम्मका लागि स्थगित गरिएको थियो । हिजो कार्यव्यवस्था परामर्श समितिको बैठकमा सरकारले एक दिन समय मागेपछि आजको संसद बैठक स्थगित गरिएको थियो ।
प्रतिनिधिसभाको आज बस्न बैठकमा अमेरिकी सहायता मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसिसी) सम्झौतामा सैद्धान्तिक छलफल हुने सम्भावित कार्यसूची रहेको थियो । संघीय संसद सचिवालयले हिजो बिहीबार सार्वजनिक गरेको आजको बैठकको सम्भावित कार्यसूचीको दोस्रो नम्बरमा एमसीसीमाथि छलफल हुने उल्लेख गरिएको थियो ।
राजनीतिक दलका शीर्ष नेताहरुबीच एमसीसीका बारेमा सहमति जुटाउने प्रयास जारी रहेको छ । हिजो बिहीबार पनि प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधव नेपालबीच एमसीसीका बारेमा सहमति जुटाउने प्रयास भएपनि निष्कर्षमा पुगेको थिएन ।
माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र प्रधानमन्त्री देउवावीच बालुवाटार भेटवार्तामा प्रचण्डले देउवालाई यथास्थितिमा एमसीसी अनुमोदन गर्न नसकिने भएकोले संसदमा थाती राख्न अनुरोध गरेका थिए । हिजो बिहीबार बिहान माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको प्रधानमन्त्री देउवासँग भएको छलफलपछि अब सँगै अघि बढ्न नसकिने निष्कर्षमा माओवादी पुगेको बताइएको छ ।
यस्तो छ हेर्नुहोस् संसद सचिवालयले निकालेको सूचना