देउवासँगको भेटवार्तापछि ओली र प्रचण्डवीच छलफल
काठमाडौँ । संघीय संसद भवन नयाँ वानेश्वरमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ वीच छलफल भएको छ ।
नेपाली काँग्रेसका सभापति समेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवा र एमालेका अध्यक्ष ओली वीचको छलफल सकिएलगत्तै ओली प्रचण्डसँग छलफलमा जुटेका हुन् । देउवासँगको छलफल लगत्तै माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसहित नेताहरु ओलीको च्याम्बरमा वार्ता गर्न पुगेका हुन् ।
छलफलमा एमालेका तर्फबाट ओलीसँगै वरिष्ठ उपाध्यक्ष ईश्वर पोखेल, उपाध्यक्ष विष्णु पौडेल, उपाध्यक्ष तथा संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङ सहभागी छन् भने माओवादीको तर्फबाट प्रचण्डसँगै नेता नारायणकाजी श्रेष्ठ, प्रमुख सचेतक देव गुरुङ र नेता शक्ति बस्नेत सहभागी रहेका छन् ।
प्रधानमन्त्री देउवा बाहिरिएलगत्तै ओलीको क्याबिनमा प्रचण्ड छलफलका लागि पुग्नुलाई नेपाली राजनीतिमा एमसीसीको नाममा के कस्तो खिचडी पाक्न खोज्दैछ भन्ने चासो बढेको छ । एमसीसीको विषयलाई लिएर सत्ता गठबन्धन टुट्ने लगभग सम्भावना नजिक पुग्दै गर्दा एक-अर्कामा पानी बाराबारको सम्वन्ध भएका ओली र प्रचण्डवीचको भेटवार्तालाई विशेष चासोका साथ हेरिएको छ ।
एमसीसीका कारण सत्ता गठबन्धन अघि बढ्ने सम्भावना कम भएको भन्दै प्रमुख प्रतिपक्ष एमालेसँग छलफलमा तीब्रता दिएका प्रधानमन्त्री देउवालाई आश्चर्यचकित पार्दै प्रचण्डले फेरि ओलीसँग छलफल शुरु गरेर नेपाली राजनीतिमा अर्को क्रमभंग गर्दै ओलीसंग राजनीतिको कोर्स करेक्शन गर्न खोजेका छन् ।
एमसीसी संसदवाट अनुमोदन गर्ने विषयमा विपक्षमा उभिएको माओवादी सत्ता गठबन्धनबाट बाहिरिने प्रवल सम्भावना रहेको छ । यस्तै एमसीसी पारित गर्न सघाउने शर्तमा एमाले सरकारमा जाने र सरकारलाई समर्थन दिने पक्षमा रहेको ओलीनिकट नेताहरुको भनाइ छ ।
माओवादीले सरकार छाड्ने, एमसीसी पारित गर्न सहयोग नगरे माओवादीका मन्त्री बर्खास्त गर्ने तयारीमा प्रधानमन्त्री देउवा रहेका छन् । यस्तो विकसित राजनीतिक घटनाक्रम विकास भई रहेका बेला माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र एमाले अध्यक्ष ओलीबीच पनि भेटवार्ताले कतै सभामुख अग्निप्रसाद सापकोटालाई नहटाउने र संसदमा टेवुल भएको एमसीसी अनुमोदन नगर्ने शर्तमा प्रचण्डले देउवा सरकार ढालेर ओलीलाई नयाँ प्रधानमन्त्रीको प्रस्ताव त गर्ने होइनन् भन्ने पनि विश्लेषण हुन थालेको छ ।
प्रधानमन्त्री देउवा र एमाले अध्यक्ष ओलीबीच आज साँझ ७ बजे पुनः छलफल हुने भएको छ । आज बिहीबार संसद् भवनमा भएको छलफलपछि नेपाली कांग्रेसका महामन्त्री गगन थापाले बेलुकी ७ बजे दुई नेताबीच छलफल हुने बताए ।