संसदको बैठक सरकारको आग्रहमा स्थगित, भोलि १ बजे बस्ने
काठमाडौँ । आज बस्ने भनिएको संसदको बैठक स्थगित भएको छ । सरकारको आग्रहमा आज बस्ने भनिएको प्रतिनिधिसभा बैठक स्थगित गरिएको हो । कार्यव्यवस्था परामर्श समिति बैठकपछि सूचना टाँस गरेर बैठक स्थगित गरिएको हो । संसदको अर्को बैठक भोलि दिउँसो १ बजे बस्नेगरी स्थगित गरिएको हो ।
कार्यव्यवस्था परामर्श समितिको बैठकमा सरकारले एक दिन समय मागेपछि आजको संसद बैठक स्थगित गरिएको हो । केही समयअघि सकिएको कार्यव्यवस्थाको बैठकले आज बस्न लागेको प्रतिनिधिसभाको बैठकमा संसदमा टेवुल भएको अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) छलफलका लागि कार्यसूची तय गरेको थियो ।
संसद सचिवालयका महासचिव डा. भरतराज गौतमले जारी गरेको सूचनामा विशेष कारणले बैठक बस्न नसक्ने राजनीतिक स्थिति सिर्जना भएकाले बैठक भोलि शुक्रबार दिउँसो १ बजेका लागि स्थगित गरिएको उल्लेख छ ।
राजनीतिक दलका शीर्ष नेताहरुबीच एमसीसीका बारेमा सहमति जुटाउने प्रयास जारी रहेको छ । आज बिहीबार पनि प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधव नेपालबीच एमसीसीका बारेमा सहमति जुटाउने प्रयास भएपनि निष्कर्षमा पुगेको थिएन ।
माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र प्रधानमन्त्री देउवावीच बालुवाटार भेटवार्तामा प्रचण्डले देउवालाई यथास्थितिमा एमसीसी अनुमोदन गर्न नसकिने भएकोले संसदमा थाती राख्न अनुरोध गरेका थिए ।
यस्तो छ हेर्नुहोस् संसद सचिवालयले निकालेको सूचना