लिपुलेक प्रकरणमा गगन-विश्वप्रकाशले मुख खोलेपछि ताते देउवा
काठमाडौँ । प्रमुख सत्तारुढ दल नेपाली काँग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले आज शुक्रबार विज्ञप्ति जारी गर्दै एकपक्षीय रुपमा नेपाली भूमिमा सडक निर्माण लगायतका भारतीय पक्षको गतिविधि आपत्तिजनक रहेको भन्दै मुख खोलेपछि पार्टी सभापति समेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवा झसंग ब्युझिएका छन् ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले ‘लिपुलेक क्षेत्रमा भारत सरकारले सडक बनाइरहेको’ भनेर केहिदिन अघि एक कार्यक्रममा व्यक्त गरेको भनाइप्रति काँग्रेसका महामन्त्रीद्वय थापा र शर्माले प्रधानमन्त्री देउवालाई भेटेर ध्यानाकर्षण गराएपछि गहन निन्द्रामा रहेका प्रधानमन्त्री देउवा ब्युझिएका हुन् ।
महमन्त्रीद्वय थापा र शर्माले लिपुलेकको बारेमा सरकारको धारणा तयका लागि दबाब दिन प्रधानमन्त्री देउवालाई भेटेका थिए । थापा र शर्माले नेपाली भूमिको सन्दर्भमा कूटनीतिक संवाद गर्न देउवालाई सुझाव दिएपछि बालुवाटार संवाद जारी रहेकै बेला प्रधानमन्त्री देउवाले परराष्ट्रमन्त्री डा. नारायण खड्कालाई फोन गरेका थिए ।
लिपुलेकको बारेमा कूटनीतिक पहलमार्फत निकास खोज्न देउवाले परराष्ट्रमन्त्री खड्कालाई निर्देशन दिएपछि देउवाले सञ्चारमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीलाई पनि फोन गरेका थिए । सरकारी धारणा तय गर्न देउवाले कार्कीलाई पनि निर्देशन दिएका छन् ।
सरकारी धारणा सार्वजनिक गर्ने पृष्ठभूमि तयार गरेर महामन्त्रीद्वयले कांग्रेसको आधिकारिक धारणा प्रकाशित गरिसकेका छन् । यस्तै लिपुलेक, लिम्पियाधुरा र कालापानी नेपाली भूमि भएको र यसका सम्बन्धमा नेपाली कांग्रेसले विगत देखिनै संस्थागत रुपले आफ्नो धारणा र अडान स्पष्ट रुपमा राख्दै आएको उनीहरुले स्पष्ट पारेका छन् ।
विज्ञप्तिमा नेपालको भोगाधिकार यी भूगोलमा कायम हुनुपर्दछ भन्ने बिषयमा नेपाली कांग्रेस प्रष्ट रहेको पनि उल्लेख गरिएको छ । यस्तै कालापानीबाट भारतीय सैनिक फिर्ता हुनुपर्ने पनि माग गरिएको छ ।
यो पनि पढ्नुहोस्
लिपुलेकमा भारतले सडक निर्माण गरेकोमा गगन-विश्वप्रकाशले जनाए कडा आपत्ति