प्रचण्डले गरेको महाधिवेशनको निम्तो ओलीद्वारा अस्वीकार
काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीको महाधिवेशनमा अतिथिका रूपमा गरेको निमन्त्रणा नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले अस्वीकार गरेका छन् ।
अध्यक्ष प्रचण्डले आज बिहान टेलिफोन गरी ओलीलाई आठौँ महाधिवेशनमा आमन्त्रण गरेको प्रचण्डको सचिवालयले बताएको छ । तर अध्यक्ष ओलीले आफू झापामा भएको भन्दै प्रतिनिधि पठाउने जवाफ दिएको पनि प्रचण्डको सचिवालयले बताएको छ ।
माओवादी केन्द्रले आफ्नो आठौँ राष्ट्रिय महाधिवेशनमा आतिथ्यका लागि प्राय: सबै राजनीतक दललाई निमन्त्रणा गरेको छ । माओवादी केन्द्रका केन्द्रीय कार्यालयका मुख्य सचिव श्रीराम ढकालकाअनुसार नेपाली कांग्रेस, नेकपा एमाले, जनता समाजवादी पार्टी (जसपा), नेकपा एकीकृत समाजवादी, राष्ट्रिय जनमोर्चा, नेपाल मजदुर किसान पार्टी, नेकपा माले, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) लगायत पार्टीलाई निमन्त्रणा गरिएको हो ।
यद्यपि समय कम भएकोले विदेशी पाहुँना बोलाउन भने सम्भव नभएको माओवादीले बताएको छ । तर नेपालिस्थित विदेशी कूटनीतिक नियोगका प्रतिनिधिलाई भने निमन्त्रणा गरिएको छ । यसअघि राष्ट्रिय सम्मेलनको तयारी गरेको माओवादीले कुनै पनि राजनीतिक दललाई नबोलाउने बताएको थियो ।
माओवादीको राष्ट्रिय सम्मेलनलाई महाधिवेशनमा रूपान्तरण गरिएसँगै अरू दलका नेताहरूलाई अतिथिका रूपमा आमन्त्रण गरिएको छ । काठमाडौंमा आज दिउँसो ३ बजे महाधिवेशनको उद्घाटन गरिने कार्यक्रम तय गरिएको छ ।