\
राजनीतिहेडलाइन

जनताको सेटिङको अघि प्रतिक्रान्तिकारीको सेटिङ केही चल्दैन : प्रचण्ड

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनताको सेटिङको अघि केही प्रतिक्रान्तिकारीको सेटिङ नचल्ने चेतावनी दिएका छन् ।

नेकपा (माओवादी केन्द्र) र नेकपा मसाल (सम्पर्क केन्द्र) बीच आज शुक्रबार भएको पार्टी एकता कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले नेपालमा प्रतिक्रान्तिकारीले संघीय लोकतान्त्रिक गणतन्त्रमाथि प्रतिक्रान्तिकारी सोचसहित हमला जारी राखेको पनि बताए ।

प्रचण्डले अहिले पनि गणतन्त्रलाई उल्ट्याउने षड्यन्त्र भइरहेको बताएका छन् । राष्ट्रिय स्वाधिनता र स्वतन्त्रताका विरुद्ध गतिविधि गर्ने दलालहरु र त्यसको प्रतिनिधित्व गर्ने दल एकातिर छन् ।

उनले ठूलो बलिदानपछि प्राप्त राजनीतिक उपलब्धि संकटमा परेकाले त्यसलाई एकताबद्ध भएर रक्षा गर्नुपर्ने आवश्यकता औंल्याउदै लोकतन्त्र, गणतन्त्र र संविधानको रक्षा गर्नु अहिलेको मूल आवश्यकता भएको उनको भनाइ थियो ।

उनले अप्रत्यक्ष रुपमा प्रतिक्रान्तिकारी भनेर नेकपा एमालेलाई कटाक्ष गरेका हुन् । विगतमा एमाले अध्यक्ष केपी शर्मा ओलीले २ /२ पटक संसद विघटन गरेर संघीय लोकतान्त्रिक गणतन्त्रमाथि हमला गरेको बताए ।

उनले गत पुस ५ मा संविधान खारेज गर्ने र परिवर्तनलाई उल्ट्याउने मनसायले प्रतिगामी कदम चालेको बताए । प्रचण्डले इमान्दार क्रान्तिकारीहरु बीचको दिगो एकताले नै प्रतिक्रान्तीकारीहरुलाई परास्त गर्न सकिने बताए ।

मोहनविक्रम सिंह नेतृत्वको नेकपा मसालबाट विद्रोह गरी फुटेर बनेको नेकपा मसला (सम्पर्क केन्द्र) ले माओवादी केन्द्रसँग पार्टी एकता भएको हो । राजनीतिक एजेन्डाप्रतिको दृष्टिकोण तथा नयाँ जनवादी क्रान्तिका बाँकी कार्यभारबारे विवाद भएपछि मसालबाट अलग्गिएको समूहले नेकपा मसाल (सम्पर्क केन्द्र) गठन भएको थियो ।

Leave a Reply